ओपन फ्लोर

अब दलितलाई ‘अपमान’ गर्ने हिम्मत कसैले गर्ने छैन

Breaknlinks
Breaknlinks

म बेलायतबाट आएको करिब चार वर्ष पुग्न लाग्यो। यो बिचमा मैले केही नयाँ विचारहरु सिर्जना गरेँ, जसले एकखालको वैचारिक र भावनात्मक तरङ्ग ल्यायो। मैले थाहा पाएअनुसार अहिले कहीँ कतै पुजारी पण्डितहरुको भेला भयो भने त्यहाँ मेरो नाम लिइन्छ। विशेषगरी मैले धर्ममा दोष छ भनेर जबर्जस्त आवाज उठाउँदै आएको छु।

तर, भावनात्मक तरङ्गले मात्र केही नहुने रहिछ। संगठन पनि चाहिने रहिछ। त्यसैले ‘विद्रोही शक्ति’ बनाउने सोच आएको थियो। तर, हाम्रो समुदायका बूढौलीपाराका मानिस पार्टीका अन्धभक्त भएर बसेका छन्। भने, युवा पनि पढाइ–लेखाइ र भविष्य बनाउनमा निरन्तर लागिरहेका बेला मजस्तै दुस्साहसी मान्छे भेटाउन गाह्रो भयो।

अनि, यो काम स्टेप बाइ स्टेप गर्नुपर्छ भन्ने सोच भयो। त्यही स्टेप बाइ स्टेप गर्ने क्रममा पहिलो चरणमा ‘कास्ट वाच नेटवार्क’ (सिडब्ल्युएन) स्थापना गरेका छौँ।

मूलभूतरुपमा यो एकप्रकारको राष्ट्रव्यापी ‘लुज फोरम’ बनाउने हाम्रो उद्देश्य हो। यसको केन्द्रीय समितिमा विशेषगरी कुनै पनि दलमा आबद्ध नरहेका ‘न्युटल’ र कटिबद्ध युवाहरु हुनुहुन्छ।

भने, काठमाडौँमा र विभिन्न जिल्लाहरुमा एकप्रकारको ‘लुज फोरम’ बनाउने तयारी छ। यो फोरम जातीय विभेदविरुद्ध लड्नेछ।

जस्तो कि काठमाडौँमा कुनै दलितलाई घरबाट निकालियो वा कसैले विभेद गर्‍यो भने हाम्रो डेढ दुई सय जनाको टोली मोटरसाइकल लिएर घर घेर्न पुग्नेछ।

अनि, केन्द्रमा रहेको टोलीले मानव अधिकार आयोग, प्रहरी हेडक्वाटर र गृह मन्त्रालयमा दबाब दिनेछ। र, विभेद गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने छ।

अब कसैले पनि दलित भएकै कारण ‘अपमानित’ भएर वा विभेद सहेर बस्नुपर्ने छैन।

कुनै पनि ठाउँमा जातीय विभेद भयो र त्यहाँका स्थानीयहरु बोल्न सकेनन् भने त्यहाँ अर्काे जिल्ला वा केन्द्रको टोली पुग्नेछ।

हाम्रो सबैभन्दा ठुलो शक्ति भनेको ‘मानव स्रोत’ हो। हामीसँग जातीय विभेदविरुद्ध लड्न सक्ने हजारौँ मानिसहरु हुनेछन्। जसलाई सरकार, नेता, सांसद, अगुवा वा कुनै पनि संस्थाले बेवास्ता गरेको छ उनीहरु अर्थात् ‘भुइँ मान्छे’ हाम्रो साथमा हुनेछन्।

हाम्रो टिममा वकिल पत्रकार तथा अन्य बुद्धिजीवीहरु पनि हुनेछने, जसले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछन्। ताकि कसैले पनि कानुनी अज्ञानताकाे कारण अनावश्यक झनझट भाेग्न नपराेस्।

हाम्रो समूहले भीडको न्यायमा विश्वास गर्दैन अर्थात् कसैलाई ठोक्ने वा आक्रमण गर्ने छैन। हामीले शान्तिपूर्णरुपमा सम्बन्धित निकायहरुलाई दबाब दिनेछौँ। र, कानुनी प्रक्रियालाई ‘डिरेल’ हुन दिने छैनौँ।

हामीले सबै निकायलाई निगरानी गरेर जातीय विभेद गर्नेलाई कानुनी कठघरामा उभ्याउने तथा खबरदारी गर्ने काम गर्नेछौँ। अर्थात्, हामी इजरायली भूमिमा बाहिरबाट प्रहार गरिएका परमाणु रोक्न राखिएका ‘आइरन डोम’जस्तै हौँ ताकि अब दलितलाई ‘अपमान’ गर्ने हिम्मत कसैले गर्ने छैन।

(परियार कास्ट वाच नेटवर्क (सिडब्ल्युएन)का अध्यक्ष हुन्।)

भिडियो:

प्रकाशित मिति: : 2024-01-16 19:45:00

प्रतिकृया दिनुहोस्