दिल्लीमा हिंसात्मक प्रदर्शन: १ प्रहरीसहित ४ जनाको ज्यान गयो, १० इलाकामा कर्फ्यु

भारतको दिल्लीस्थित यमुना क्रसिंग क्षेत्रमा नागरिकता संशोधन ऐनको विरूद्धमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ। जफराबाद, मौजपुर, सलेमपुर र चाँदबाग क्षेत्रमा भएको प्रदर्शनले हिंसाको रुप लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

सोमबार विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा एक प्रहरी हवल्दार र तीन सर्वसाधारणसहित चार जनाको मृत्यु भएको छ। कम्तिमा ३७ जना घाइते भएको इन्डियन एक्स्प्रेसले जनाएको छ।

आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले ढुँगा बर्साएका थिए भने केही स्थानमा आगजनी समेत गरेका थिए।  भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले निकै संघर्ष गर्नु परेको थियो।

सरकार समर्थकहरूले नागरिकता कानुनको विरोध गरिरहेका मुसलमान समुदायमाथि आक्रामक देखिएका छन्। सडकमा कतिपय मुसलमानमाथि भीडले सांघातिक कुटपिट गरेका छन्। कतिपय ठाउँमा पेट्रोल बमसमेत प्रयोग गरिएका छन्। वरिपरिका पसल, घर र सवारी साधनमा आगो लगाइएको छ। प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो।

भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ। संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो।

अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा ६ वर्षमात्र भारतमा बसेको वा काम गरेको भरमा अङ्गीकृत नागरिकता पाउन सक्नेछन्। तर मुस्लिम समुदायलाई भने कानुनले विभेद गरेको छ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्रले पछिल्लो दुई महिनाभन्दा बढी समयदेखि चलिरहेको नागरिकता कानुनविरोधी प्रदर्शन रोक्न प्रहरीलाई तीन दिनको अल्टिमेटम दिएपछि दिल्लीमा हिंसा भड्किएको स्क्रोलले लेखेको छ। शनिबार राति जफराबादमा भएको प्रदर्शनपछि उनले उक्त अल्टिमेटम दिएका थिए। करिब पाँच सय जना सहभागी प्रदर्शनमा अधिकांश महिला थिए।

उनले तीन दिनभित्र यो विरोध प्रदर्शन नरोकिए त्यसपछि आफूहरू प्रहरी कारबाहीको बाटो हेरेर नबस्ने चेतावनी दिएका थिए। भाजपा नेताको यस्तो भनाइपछि नै आइतबारबाट नागरिकता कानुनका समर्थक सडकमा ओर्लिएका हुन्। यसले दिल्लीमा जारी आन्दोलन थप चर्काउने काम गरेको छ।

बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको छ। हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय गृहमन्त्रीलाई शान्ति व्यवस्था कायम गर्न अपील गरेका छन्। 

प्रकाशित मिति: : 2020-02-25 20:11:16

प्रतिकृया दिनुहोस्