गैँडा गणना आउँदाे चैत १ देखि

दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ। 

फागुनको अन्तिम हप्ता प्राविधिक कर्मचारीलाई तालिम दिएर गणना गर्न लागिएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिए। नेपालका चार वटा निकुञ्जमा गैँडा रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ। प्रत्यक्ष रुपमा गणना गरिँदै छ। २० दिनमा गणना गरिसक्ने योजना छ।

श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ। शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ। वन मन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ।   

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यस पटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ। उहाँका अनुसार गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ। बाढीले गैँडा बगाएपछि गएकाे वर्ष नै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन। दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारले नै बजेट विनियोजन गरेको थियो।   

हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ। यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। त्यतिबेला ६ सय ४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। जसमध्ये ६ सय ५ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए। 

प्रकाशित मिति: : 2020-02-26 20:12:31

प्रतिकृया दिनुहोस्