आजकाे माैसम : मध्य र पूर्वका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

बिएल संवाददाता

काठमाडाै‌ं

बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। म‌ंगलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ।

अहिले बदली भएको काठमाडौंको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने छ। बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने महाशाखाको भनाइ छ। 

यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने मौसमविद्ले बताएका छन्। प्रिमनसुनमा बिहान मौसम खुलेर दिउँसो घाम लाग्छ तर बेलुकीतिर बदली भएर हुरीबताससहित चट्याङ र असिना पर्छ।

सामान्यतया मार्च अर्थात् फागुनको मध्यदेखि तीन महिनासम्म प्रिमनसुन हो। केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबताससहित चट्याङ पर्न थालेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति: : 2020-02-26 20:51:13

प्रतिकृया दिनुहोस्