कुवेतलाई हराउँदै युएईले जित्याे वेस्टर्न रिजनको उपाधि

बिएल संवाददाता

काठमाडाै‌ं

एसीसी वेस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ। 

ओमानमा भएको प्रतियोगिताको बिहीबार भएको फाइनलमा युएईले कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए।        

युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो।

 कुवेतका लागि मोहम्मद अस्लाम नवफरले अविजित रहँदै सर्वाधिक २३ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाएका हुन्। 

 यस्तै बिलाल मुहम्मद ताहिरले २२ रन बनाए भने मुम्मद अमिल १८ रनमा अविजित रहे। 

कुवेतलाई कम स्कोरमा रोक्न युएईका सुल्तान अहमदले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए। उजले करिअरको उत्कृष्ट बलिङ गरेका हुन्। 

यस्तै अहमद राजाले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। मुहम्मद जुनाइद सिद्दिकीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ५ विकेट गुमाएर १९९ रन बनाएको थियो।

उसका लागि ओपनर चिराग शुरीले ४१ बल खेल्दै ८ चौकाको मद्दतमा सर्वाधिक ६० रन बनाए। यस्तै वाहिम अहेमदले अविजित ४५ रन बनाए। उनले १५ बल मात्र खेल्दै ६ छक्का प्रहार गरे। यता रोहन मुस्ताफा र मुहम्मद उस्मानले समान २८ रन जोडे।

कुवेतका अफसल अस्रफले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चिय। 

८ राष्ट्र सहभागी यस वेष्टर्न रिजनबाट युएई र कुवेतले यसअघि नै एसिया कप क्वालिफायरमा स्थान पक्का गरिसकेका छन्।

अगष्टमा हुने एसिया कप क्वालिफायरमा ४ टिमले प्रतिस्पर्धा गर्नेछन्। यही २९ फेब्रुअरीदेखि ६ मार्चसम्म थाइल्याण्डमा हुने इस्टर्न रिजनको शीर्ष दुई टिमले पनि एसिया कप क्वालिफारमा स्थान बनाउनेछन्।

इस्टर्न रिजनमा थाइल्याण्डसहित नेपाल, हङकङ,मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। खेल राउण्ड रोविन लिगमा हुनेछ। ४ टिमबीच हुने क्वालिफायरबाट विजेता टिम सेप्टेम्बरमा हुने पाकिस्थानमा हुने एसिया कपमा छनोट हुनेछ।
 

प्रकाशित मिति: : 2020-02-28 04:41:36

प्रतिकृया दिनुहोस्