नदेखेको देश

रितु थापा

म्यानमार

बल्ल काठमाडौं ओर्लिएँ। चारैतिर पहाडले ढाकेको उपत्यकाले मेरो मन लोभ्यायो। चहलपहल निकै छ। कोही बाहिर त, कोही भित्र आउने जाने क्रम जारी छ। काठमाडौंको चिसो हावासँगै मन भने तातिएको महसुस भयो। जब मैले नेपाली माटोलाई टेकेँ, अंगालेर चुमेँ।

नेपाल पुग्ने मेरो बाल्यकालदेखिको चाहना बल्ल पुरा भयो। नेपाल त देखेकै हो नि, सामाजिक सञ्जालका भित्तामा। तर, आज नेपालसँगै रमाउने प्रयास गर्दैछु। जता पनि नेपाली, जहाँ पनि नेपाली। नेपालमै आएपछि म पनि पुरै नेपाली। नेपालका धेरै गाउँ–ठाउँहरुमा घुम्ने मेरो इच्छा छ। आज गुलाफ भन्दा पनि प्रिय लाग्ने पुर्खाको देशमा गुराँससँग रमाउँदा, म झसङ्ग बिउँझेँ...

‘जुन कुरा धेरै याद गरिन्छ, त्यो कुरा कहिलेकाहीँ सपनामा पनि देखिन्छ’, आमाले भन्नुभएको थियो। पुर्ख्यौली देश नेपाल जसलाई म हरपल सोचिरहेकी हुन्थेँ। त्यो भूमिमा पुगेको सपना देखेँ। सपना सबैमा हुन्छन् र मेरा पनि रहेछन्।

मैले सपनामा महसुस गरेका सबै दृश्यहरु पढेका, सुनेका र भिडियोमा देखेका मात्रै हुन्।

सुनेकी थिएँ, म्यान्मारबाट नेपाल पुग्ने जो कोही पनि नेपालको भूमि टेक्ने बित्तिकै, माटो शीरमा राख्नुहुन्छ रे। मलाई नेपाल पुगेर आउनुभएकी फुपूले पनि यसै बताउनु हुन्थ्यो। अवश्य पनि प्यारो त लाग्छ नि, रगतको साइनोसँग जोडिएका मनहरूसँग।

म्यान्मारका नेपालीभाषी हामीलाई नेपाली खाना, नेपाली कपडाहरु खुबै मन पर्छ। अझ् भनौं ती कपडामा गोर्खा अंकित खुकुरी वा तीनकुने चन्द्र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डाहरू भएका कपडाहरु रोजेर, खोजेर लगाउने गर्छौं।

पुर्खाको देश र गोर्खाको गौरवपूर्ण इतिहासप्रतिको उच्च सम्मान र माया ठानेका छौं। नेपाली अन्य गीतसँगै राष्ट्रिय गान, 'सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली' गाउँदासमेत हामीहरू रमाइरहेका हुन्छौं।

यी कुराहरू पछिल्लो पुस्तामा समेत आर्कषणको केन्द्र बनेका छन्।

टाउँजीको मौसम चिसो थियो। सधा झैं, त्यो दिन पनि जाडोका कारण मैले ज्याकेट लगाएकी थिएँ। मेरो जाकेटमा प्रस्ट देखिन्थ्यो, नेपाली राष्ट्रिय झण्डाको चिन्ह। नेपाली झण्डा कोरिएका कपडा राम्रो लाग्छ र लगाउँछु पनि।

त्यो समय मैले काम गर्ने ठाउँमा एनजीओको कार्यक्रम थियो। कार्यक्रमका लागि म्यान्मारसँगै अन्य देशका नागरिक पनि आएका थिए। उनीहरु आ–आफ्नो काम गरिरहेका थिए। ती मध्ये एक जना मेरो नजिकै आए र सोधे (अंग्रेजी), 'तिमी नेपाली हो?'

मैले भने, 'हजुर हो। म नेपाली नै हो।'

उनी किन रोकिन्थे फेरि सोधिहाले, 'कति भयो म्यान्मार आएको?'

मैले भने, 'म यतै जन्मिएकी हुँ। मेरो पुर्खाहरु आउनुभएको हो।'

उनी अझै चासोका साथ सोध्न थाले, 'नेपालबाट बाबा आउनुभएको?'

म, 'होइन, नि। बुबा पनि यतै जन्मिनुभयो। नेपालबाट "हजुर बा" का "बा" आउनुभएको हो।'

सँगै उभिएका अर्को एक जनाले सोधे, 'तिमी नेपाल पुगेकी छौं?'

ती विदेशीको पछिल्लो प्रश्नले मलाई अलिक अप्ठेरो पनि बनायो। तर पनि भने, 'म त अहिलेसम्म नेपाल पुगेकी पनि छैन नि।'

उनीहरूले भने, 'नेपाल धेरै सुन्दर देश छ। हरेक मानिसहरु नेपाल पुग्नैपर्छ। तिमी पनि समयको व्यवस्थापन गरेर नेपाल घुम है। हामीहरू पनि घुमेका छौं।'

म्यान्मार आएका विदेशीले नेपालबारे थप ऊर्जा थपिदिए। नेपाल पुग्नुपर्ने र सुन्दर देश भएको बताउँदा मलाई धेरै खुसी लाग्यो। कुनै पनि साइनो र सम्बन्ध नभएका विदेशीले नेपालप्रेमी मलाई जन्मभूमि म्यान्मारमा आएर नेपाल घुम्न आग्रह गर्दा पुर्खाको देश नेपालप्रति साँच्चिकै सम्मान जाग्दोरहेछ।

मलाई ऊर्जा थपिदिने ती विदेशीहरुले नेपाल नपुगेर पनि नेपाली माया देखाएकोप्रति खुबै तारिफ गरिरहेका थिए। म्यान्मार आइपुगेका विदेशीहरुको मुखबाट यी शब्दहरु सुन्दा मलाई निकै गर्व महसुस भयो।

म्यान्मारका नेपालीभाषि अहिलेसम्म नेपाली भाषा, धर्म, कला, संस्कृति र परिवेश मै हुर्किएका छौं। विश्वले चिनेको शान्तिको प्रतिक मानिने नेपाल अर्थात् मेरा पुर्खाको देश नेपाल सबैभन्दा महान रहेछ। नदेखेको सुन्दर देश नेपालप्रति धेरैधेरै माया।

जय बर्मा, जय गोर्खा, जय नेपाल।

प्रकाशित मिति: : 2020-02-28 05:28:48

प्रतिकृया दिनुहोस्