यति समूहका आङछिरिङ शेर्पाका छोरा नवाङलाई अदालतले थुनामा पठायो

लागू औषधसहित समातिएका आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा सहित चार जनालाई अदालतले थुनामा पठाएको छ।

बिहिबार बयानपछि न्यायाधीश विदुर कोइरालाको इजलासले थुनामा पठाउने निर्णय सुनाएको हो। हेलिकप्टर दुर्घटनामा दिवंगत यति समूहका व्यवसायी आङछिरिङका छोरा नवाङ लागू औषधसहित पक्राउ परेका हुन्।

काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ परेका उनीहरूबाट वृत्तले खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नुर्फिन २ पिस, फेनारगन ३९ पिस, सिरिन्ज १२ थान बरामद गर्‍यो।

गत माघ १८ गते खैरो हिरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए। 

गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट सपना रायमाझी, राजन श्रेष्ठ लगायतलाई प्रहरीले नियन्त्रणा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट एक सय ग्राम खैरो हेरोइन फेला पारेको थियो।

लागुऔषध मुद्दामा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौं लगिएपछि मात्र यो कुरा खुल्यो। बुधबार बाँकी तीन जनाको थुनछेक बहस सकिएको थियो भने आज बिहीबार नवाङको थुनछेक बहस सकिएको छ। उनीसहित चारै जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ। प्रहरी स्रोतका अनुसार नवाङ लागुऔषध दुर्व्यसनी हुन्। प्रहरीले पक्राउ गरेको समयमा समेत उनी ड्रग्सको नसामा नै थिए। 

पक्राउ परेका अन्य व्यक्तिले नवाङकै आदेशमा लागुऔषध उपलब्ध गराउने गरेका थिए। नवाङसँगै पक्राउ परेका अन्य व्यक्ति पनि लागुऔषध दुर्व्यसनी रहेको स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले बताए।

प्रकाशित मिति: : 2020-02-28 07:22:34

प्रतिकृया दिनुहोस्