‘राप्रपा प्रजाति’ को एकता, कहाँ अड्कियो हलो?

प्रधानमन्त्री केपी ओलीको दुई वर्षे शाषनकालमा देखिएको भ्रष्टाचारलगायतको मुद्धा तथा राष्ट्रवादको नाममा गरिएको भद्धा मजाकपछि एक पल्ट फेरि राष्ट्रवादी नेपालीहरू एक ढिक्का हुनु जरुरी भएको छ। 

यति बेला पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लाेहनीको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा संयुक्त) र कमल थापा नेतृत्वको राप्रपाबीच एकताको हल्लाले बजार तातिएको छ। कुनै बेला एउटै समूहमा रहेका ‘राप्रपा प्रजाति’ को मिलनले राष्ट्रिय मुद्धा तथा राष्ट्रियताको विषय दह्रोसँग उठान हुने कुरामा प्रायः सबै आशावादी देखिएका छन्।  

तर, सबैले आशा गरेअनुरुप के राप्रपाबीच एकता हुँदैछ त? यति बेला राप्रपाभित्र ५५ र ४५ प्रतिशतको कुरा उठेको छ। यसमा पनि पहिले एकता भएजस्तै उधारोमा काम हुने त होइन? भन्ने चासो कार्यकर्ता पंक्तिमा देखिन्छ। 

संविधानसभा निर्वाचनभन्दा अगाडि स्थानीय चुनावताका राप्रपा र राप्रपा नेपालबीच बृहत एकता भएको थियो। त्यति बेला पशुपति शमशेर अध्यक्ष रहेकाे राप्रपा र कमल थापा अध्यक्ष रहेकाे राप्रपा नेपालबीच एकता भएर राप्रपा बनेको थियो। 

तर, पूर्वसहमति कार्यान्वयन नभएपछि पशुपति शमशेरले ४० प्रतिशतभन्दा बढी केन्द्रिय सदस्य र सभासद् लिएर छुट्टै राप्रपा–प्रजातान्त्रिक पार्टी गठन गरे। लगत्तै डा. लोहनी पनि सहमति कार्यन्वयन नभएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कमल थापाबाट अलगिए। र उनले पनि राप्रपा–राष्ट्रवादी पार्टी गठन गरे। पशुपति र लाेहनीबीच फेरि एकता भएर राप्रपा संयुक्त जन्मिएकाे हाे।

पूर्वशिक्षा मन्त्री केशरबहादुर बिष्टलगायत राष्ट्रवादी अरु स‌ंगठन पनि आफ्नो छुट्टै पार्टी गठन गरेर राजनीतिमा सक्रिय छन्। 

वास्तवमा बृहत प्रजातान्त्रिक एकताको कुरा सबैभन्दा पहिले पार्टीका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले अगाडी सारेका थिए।

उनले २०६२–६३ मा गणतन्त्र स्थापना भएपछि बाम गठबन्धनको कुरा चलिरहेको बेला बृहत प्रजातान्त्रिक एकताको अवधारणा अगाडी सारेका हुन। त्यति बेला नेपाली कांग्रेसका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक एकता तत्कालका लागि आवश्यक नभएको बताएर सूर्यबहादुरको विचारलाई रोक्ने प्रयास गरे। 

तर अहिले बाम एकता भएकाे अवस्थामा पार्टीका पूर्वअध्यक्ष सूर्यबहादुर थापाले पहिलेदेखि उठाउँदै आएकाे बृहत प्रजातान्त्रिक एकताकाे सान्दार्भिकता फेरि बढेर गएकाे छ। हाल पार्टीका अध्यक्ष पशुपति शमशेरले पूर्वअध्यक्षकाे याे विचारलाई उठान गर्दै आइरहेका छन्। बृहत प्रजातान्त्रिक एकतालाई अगाडी बढाउन राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले पत्याउने स्वच्छ छवी भएकाे नेतृत्व अहिलेकाे माग हाे र आवश्यकता पनि। 

हाल नेपाली कांग्रेसले बृहत प्रजातान्त्रिक एकताकाे कुरा उठान गर्नुपर्नेमा उनीहरुकाे ध्यान यता जान सकेकाे छैन। त्यसैले बृहत प्रजातान्त्रिक एकताकाे नेतृत्व पशुपति शमशेरले  गर्नु अहिलेकाे आवश्यकता हाे। उनी देशका वरिष्ठ नेता पनि हुन्। 

यसका लागि ‘राप्रपा प्रजातीहरु’ एक ठाउँमा आउन जरुरी छ। पार्टी नेतृत्वले पनि एकताका लागि आउने कसैलाई काखा वा पाखा गर्नु हुँदैन। नेतृत्वले यसका लागि ठूलाे छाती देखाउन जरुरी छ।

राप्रपालाई अहिले भागबन्डाको राजनीतिभन्दा सबै समूहलाई एकै ठाउँमा ल्याएर एकता गर्नु आवश्यक छ। हिजो पनि एकता गर्दा चित्त नबुझनेको संख्या पर्याप्त देखियो। त्यसैले अब हुने एकतामा समायोजनको प्रकृयालाई मिहिनढंगले केलाउनु जरुरी देखिन्छ। अब एकता हुँदा कार्यकर्ताको मनोभावना अनुसार समायोजन गर्नु जरुरी छ। 

वास्तवमा यसपालि पार्टी एकताको अभियान गुटबन्दीको आधारमा नभएर नेता तथा कार्यकर्ताको क्षमताको आधारमा हुनु जरुरी छ। पहिले पनि पार्टीको चुनाव चिन्ह र झन्डालाई लिएर विवाद भएको थियो। अब एकता हुँदा जे–जे कुरामा सहमति गर्ने हाे, पहिले नै सहमति गरेर अगाडी बढ्दा दुर्घटना हुनबाट जाेगिन्छ। 

एकताको बेला सबै बर्ग, लिङ तथा जातजातिलाई मान्य हुनेगरी पार्टीको चिन्ह र झन्डाको टुँगो लगाउन सफल भएको खण्डमा यसले एकताको भावनालाई पनि समेट्ने छ। किनभने राप्रपामा कार्यकर्ताका रुपमा उच्च हिमाली भेगमा बसोबास गर्नेदेखि तराईमा बसाेबास गर्ने समुदाय रहेका छन्। उनीहरूको मनोभावना आउँदो एकता महाधिवेशनमा सम्बोधन भयाे भने पार्टीले एउटा गति लिने पक्का छ।  

(लेखक राप्रपा सयुक्तका केन्द्रिय प्रवक्ता हुन्।)
 
 

प्रकाशित मिति: : 2020-02-29 04:52:37

प्रतिकृया दिनुहोस्