पाठ्यपुस्तक बिनानै हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरू

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र शुरू भइसक्दा समेत पाठ्यपुस्तक पुगेका छैनन्। पाठ्यपुस्तक बिना नै शैक्षिक सत्र सुरू भयो। तर, पढाईले गति लिन सकेको छैन।

समयमै पूर्ण पाठ्पुस्तक नपुगे पनि विद्यार्थी भर्ना अभियानलाई भने यहाँका विद्यालयले तीव्र बनाएका छन्। यतिखेर डोल्पाका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरू विभिन्न आर्कषक प्याकेज कार्यक्रम सहित आफ्नो विद्यालयमा भर्ना हुन आग्रहका साथ विद्यार्थीको घरदैलो अभियानमा जुटेका छन्।

यसै क्रममा त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत पर्ने त्रिपुरा माद्यमिक विद्यालय काटिँयाचौरले विद्यालयमा भर्ना हुन आउने नयाँ विद्यार्थीलाई ड्रेस कपि र झोला निःशुल्क उपलब्ध गराउने नाराका साथ घरदैलो अभियान गरेको छ। ‘शिक्षाको ज्योती जगाऔं सक्षम नागरिक तयार पारौं, आफ्ना नानीलाई विद्यालय पठाऔं, स्तरीय शिक्षा घरघरमा पुर्‍याउ, निःशुल्क तथा अनिर्वाय शिक्षा लागू गरौं, गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्दता भन्ने नाराका साथ विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी अभिभावक नागरिक समाजका प्रतिनिधि शिक्षक विद्यार्थी विभिन्न नारा अंकित प्लेकार्ड सहित घरदैलो पुगेर विद्यार्थी भर्ना गर्न अभिभावकलाई सचेतना गराएका थिए।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देविकृष्ण उपाध्यायले गरिव तथा आर्थिक विपन्न परिवारका बालबालिका र जेहेन्दार बालबालिकासहित सबैलाई बिशेष शैक्षिक प्याकेज सहयोग कार्यक्रम लागू गरेर विद्यार्थी भर्नादर बढाउन थालिएको बताए।

कर्णाली प्रदेशका हिमाली जिल्ला डोल्पा, जुम्ला, मुगु र हुम्लामा फागुनको पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरू हुने गर्छ। शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक नपुग्ने विगतका वर्षको नियती यस वर्ष पनि दोहोरिएको छ। पाठ्यक्रम विकास केन्द्रले समयमै पाठ्यपुस्तकको लागि छपाई गर्नुपर्ने विषयवस्तु समयमै नदिएकाले कक्षा १ का पाठ्यपुस्तक छपाईमा ढिला भएको कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा पाएको निजी कम्पनी सुदिपा ट्रेडिङ लिमिटेड काठमाडौंका प्रमुख रामहिरा पाठकले जानकारी दिए।

पाठकले भने, ‘पाठ्यपुस्तक छपाईमा अलि ढिला भएपनि भर्खरै मात्र छपाई सम्पन्न गरेर कर्णालीका हिमाली जिल्लाको लागि नेपालगन्जको लागि काठमाडौंबाट मंगलबार मात्र पठाइएको छ, अबको केहि दिन भित्र जिल्लामा पुग्छ।’

नेपालगन्जदेखि डोल्पाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका जनक शिक्षा सामाग्री केन्द्रका प्रतिनिधिको रूपमा रहेका वितरकले कक्षा दुईदेखि दश सम्मका पाठ्यपुस्तक जिल्लामा पुर्‍याए पनि कक्षा १ का पाठ्यपुस्तक जिल्लामा नपुगेकाले स-साना बालबालिकाको हातमा पुस्तक पुग्न सकेको छैन।

सरकारले कर्णालीका बालबालिकाको लागि कक्षा १ देखि १० सम्म निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भने पनि प्रयाप्त बजेट उपलब्ध नगराउँदा कर्णालीका विद्यार्थीको लागि सरकारको घोषणा गरेको निःशुल्क शब्द कागजमा मात्र सिमित रहेको गुनासो बालबालिकाको छ।

जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रविन्द्र शर्माले विगतको तुलनामा यो वर्ष कक्षा १ का पाठ्यपुस्तक बाहेकका सबै पाठ्यपुस्तक जिल्लामा पुगेको बताए। डोल्पाको लागि धेरै एजेन्टले जिल्लामा पाठ्यपुस्तक पुर्‍याएर वितरण समेत गरेको जानकारी आफूमा आइसकेको भए पनि केही वितरकले भने भर्खर मात्र पाठ्यपुस्तक उठाएको शर्माले बताए।

फागुनको पहिलो सातामा किताब पुगे पनि त्रिपुरासुन्दरी नगरपालिका भित्रका विद्यालयले किताव नलगेकाले बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन्।

नगरपालिका र किताव एजेन्ट बीचको तालमेल नमिल्दा विद्यालयले किताव लिन अस्वीकार गरेपछि जिल्लामा किताव पुगेर पनि बालबालिकाको हातमा किताव नपुगेका हुन्।

त्रिपुरासुन्दरी नगरपालिकाले सबै किताव एजेन्टले आफूले ल्याएको पाठ्यपुस्तक सम्बन्धित विद्यालयमा पुगेरै वितरण गर्नु पर्ने निर्णय गरेको भए पनि एजेन्टले विद्यालयमा नपुगेर आफ्नै स्टेशनरी पसलबाट वितरण शुरू गरेपछि विद्यालयले पाठ्यपुस्तक लिन अस्वीकार गरेका हुन्।

श्रृष्टि एण्ड स्मृती स्टेशनरी पसल त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरका प्रोप्रराइटर तथा किताव वितरक पुर्णकेशर न्यौपानेले आफू सहितका किताव एजेन्टको उपस्थिति र सहमति विना एकल रूपमा नगरपालिकाले गरेको निर्णय आफूले नमान्ने बताउँदै विद्यालय शिक्षक आए पसलबाटै वितरण गरिने नआए आफूले किताव कुनै पनि हालतमा विद्यालयमा नपुर्‍याउने बताए।

त्रिपुरासुन्दरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भिमबहादुर धरलाले नगरले किताव ढुवानी जिम्मा पाएका एजेन्टले सम्बन्धित विद्यालयमै किताव पुर्‍याउनुपर्ने निर्णय भएकाले वितरकले विद्यालयमै किताव पुर्‍याउनुपर्ने बताए।

वितरकले बालबालिकाबाट परलमुल्य भन्दा बढी मुल्य लिएर किताव वितरण गरिरहेको जनगुनासो आइरहेका बेला श्रृष्टि एण्ड स्मृती स्टेशनरीका प्रोपराइटर न्यौपानेले कक्षा ६ का पाठ्यपुस्तक रंगिनका साथै विषय पनि थप भएकाले विगतको मुल्य केही बढे पनि अन्य कक्षाका कितावको मुल्य कितावमा उल्लेखित भन्दा एक पैसा पनि बढी लिन नमिल्ने बताए।

उनका अनुसार कक्षा २ को  कितावको मुल्य २५०,कक्षा ३ को ३००, कक्षा ४ को ३४८, कक्षा ५ को ३७२,कक्षा ६ को लागि ६२०, कक्षा ७ को लागि ७२० कक्षा ८ को लागि ६६० कक्षा ९ को ऐच्छिक सहित ६६० र कक्षा १० को लागि ६६० मुल्य निर्धारण गरिएको छ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका त्रिपुरा माद्यमिक विद्यालय काँटियाचौर र महाकवि आधारभुत विद्यालय रल्ली बाहेक अन्य विद्यालयले अहिले सम्म किताव लिएका छैनन्।

जागृती स्टेशनरी पसल दुनैका प्रोपराइटर तथा किताव वितरक विष्णुलाल बुढाले ठूलीभेरी नगरपालिका भित्रका आफ्नो क्षेत्रका विद्यालयमा कक्षा १ बाहेकका सबै पाठ्पुस्तक वितरण गरि सकिएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-29 07:07:17

प्रतिकृया दिनुहोस्