अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेद्वारी प्रतिस्पर्धामा पूर्व उपराष्ट्रपति जो बाइडेनले गतिलो कमब्याक गरेका छन्। शनिबार साउथ क्यारोलाइनामा सम्पन्न प्राइमरीमा ठूलो जीतका साथ उनको कम ब्याक भएको हो ।
बाइडेनले साउथ क्यारोलाइनामा ४८.८ प्रतिशत मत ल्याएर ३१ डेलिगेट आफ्नो पक्षमा पारेका छन्। १९.९ प्रतिशत मतका साथ दोस्रो स्थान हासिल गरेका बर्नी स्याण्डर्सले १० डेलिगेट हात पारे। बाँकि उम्मेद्वारले १५ प्रतिशतभन्दा कम मत पाएकाले डेलिगेटको खाता पनि खोल्न सकेनन् ।
ठूलो संख्यामा अश्वेत मतदाता रहेको साउथ क्यारोलाइनामा बाइडेन विजयी हुनुमा यो मत निर्णायक रह्यो। अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेनको जीतमा ओबामा फ्याक्टरले काम गरेको राजनीतिक पण्डितहरूले बताएका छन्।
साउथ क्यारोलाइनामा बाइडेन विजयी भएकोमा स्याण्डर्सले उनलाई वधाइ दिएका छन्। सुपर ट्युज्डेको चुनावी क्याम्पेनमा भर्जिनियामा रहेका बर्नीले साउथ क्यारोलाइना जित्न नसके पनि सुपर ट्युज्डेमा ठूलो जीत प्राप्त हुने बताए ।
साउथ क्यारोलाइनामा बाइडेनले जित्ने अनुमान गरिए पनि यति ठूलो जीत भने अप्रत्यासित मानिएको छ। यसअघि आयोवा, न्युह्याम्पसायर र नेभादामा निराशाजनक परिणाम हासिल गरेका बाइडेनका लागि यो जीत संजीवनी भएको छ। मार्च ३ मा १४ राज्यमा चुनाव हुने सुपर टुज्डेको पूर्वसन्ध्यामा प्राप्त उनको यो सफलताले सुपर ट्युज्डेमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
ठूलो संख्यामा अश्वेत मतदाता रहेको साउथ क्यारोलाइनामा बाइडेन विजयी हुनुमा यो मत निर्णायक रह्यो। अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडेनको जीतमा ओबामा फ्याक्टरले काम गरेको राजनीतिक पण्डितहरूले बताएका छन्।
साउथ क्यारलाइनाको परिणामपछि डेलिगेट संख्याको अङकगणितामा पनि ठूलो फेरबदल आएको छ। बर्नी ५५ डेलिगेट्सका साथ अग्रस्थानमा रहे पनि दोस्रो स्थानमा रहेका मेयर पिट बटिजजलाई उछिन्दै बाइडेन दोस्रो स्थानमा पुगेका छन्। अब बाइडेनको डेलिगेट संख्या ४६ पुगेको छ भने बटिजजसँग २६ डेलिगेट्समै सिमीत भएका छन्। त्यसपछि वारेनसँग ८ र क्लोबचरसँग ७ डेलिगेट्स रहेका छन्।
साउथ क्यारोलाइनामा निराशाजनक परिणाम हात लागेपछि बिलिनियर उम्मेद्वार टम स्टेयरले उम्मेद्वारी नै मिडप्याक गरेका छन्। अन्य उम्मेद्वारले भने सुपर टुज्डेको परिणाम पर्खने छनक देखाएका छन्।
सुपर टुज्डेमा मतदान हुने १४ राज्यमध्ये टेक्सास र क्यालिफोर्नियामा बर्नी स्याण्डर्स अगाडि देखिएका छन्। सीएनएनले गरेको मत सर्भेक्षणमा बर्नी अगाडि देखिएका हुन्। यी दुबै राज्यमा ६ सय डेलिगेट्स छन् र यहाँ पहिलो स्थानमा रहनेले सबै डेलिगेट्स जित्ने प्रावधान रहेको छ। यही प्रावधानका कारण बर्नीले बाइडेनमाथिको अग्रता ठूलो बनाउने अपेक्षा गरिएको छ। अन्य राज्यमा पनि बर्नी कि अगाडि कि प्रतिस्पर्धामा रहेकाले उनी नै अग्रस्थानमा रहने सम्भावना देखिएको छ।
तर, डेमोक्रेटिक उम्मेद्वारी जित्न आवश्यक पर्ने १९९१ डेलिगेट्सको जादुगरी संख्या भने कसैले पनि छुने सम्भावना देखिदैन । यस्तो अवस्थामा सुपर डेलिगेट्सको मत निर्णायक हुने अवस्था आउँछ। त्यस्तो अवस्था आयो र बाइडेनले दोस्रो स्थानमा रहेर प्राइमरी सके पनि उनको उम्मेद्वार हुने सम्भावना बलियो छ । किनकि, इन्डिपेन्डेन्ट सिनेटर बर्नी डेमोक्रेटिक पार्टीमा आउटसाइडर मानिन्छन् भने जो बाइडेन संस्थापन पक्षका उम्मेद्वार मानिन्छन्।