ऋषभले धेरै मौका पाएः कप्तान कोहली

एजेन्सी

क्राइसचर्च

न्युजिल्यान्डसँग दुई टेस्टको शृंखलामा ‘वाइट ह्वास’ भोगेपछि भारतीय कप्तान विराट कोहलीले आफ्नै विकेटकिपर ऋषभ पन्तको विषयमा टिप्पणी गरेका छन्। 

दुबै टेस्टमा कोहलीको ब्याट्बाट पनि कुनै करिश्मा देखिएन। अनुभवी विकेटकिपर रिद्धिमान साहाको स्थानमा युवा ऋषभ पन्तलाई मौका दिइएको थियो। तर, ऋषभले दुबै पल्ट भारतीय टिमलाई निरास पारे। 

भारत पहिलो टेस्टमा १० र दोस्रो टेस्टमा ७ विकेटले पराजित भएको थियो। कोहलीले भने, ‘अस्ट्रेलिया शृंखलादेखि घरेलु शृंखलासम्म ऋषभले थुर्पै मौका पाए। बीचमा केही समय उनले खेलेनन्। यस अवधिमा उनले आफ्नो ब्याटिङ सुधारमा धेरै काम गरेका छन्। समयभन्दा अगाडी धकेल्दा कसैले पनि आफ्नो आत्मविश्वास गुमाउन सक्छ।’

उनले जारी शृंखलामा सबैको प्रदर्शन सोचेअनुरुप नभएको बताए। ‘एक्लो उनलाई मात्र जिम्मेवार ठहर गर्नु राम्रो होइन। समूहमा भएको हुनाले सबैले आफ्नो कमजोरी स्विकार गर्नु पर्छ’, उनले भने। 

भारत दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ४२ रन बनाएको थियो। प्रत्युत्तरमा न्युजिल्यान्ड २ सय ३५ मा अलआउट भएपनि दोस्रो इनिङमा भारतको प्रदर्शन निकै फितलो देखियो। भारत दोस्रो इनिङमा १ सय २४ रनमै खुम्चिएको थियो। प्रत्युत्तरमा ३ विकेट गुमाएको न्युजिल्यान्डले १ सय ३२ रन बनाएर सहज जित निकाल्यो।
 

प्रकाशित मिति: : 2020-03-03 07:07:19

प्रतिकृया दिनुहोस्