कविता

प्रीतिको फूल 

अर्पण उत्कर्ष

काभ्रेपलाञ्चोक

म प्रीतिको फूल

बाटोमुनिको साँघुरो गल्छिमा हुर्केको 
खोल्साको ओसिलो चेपमा जीवन देखेको
पहराको माथिल्लो डिलैनिर अडिबसेको 
झर्नै लागेको तर कहिलै नझर्ने 
मुस्कुराउन खोज्ने तर कहिलै हांस्न नजान्ने 
कसैको आँखामा नबसेको 
मनमा नअल्झिएको
चुल्ठोमा नशिउरिएको 

म प्रीतिको फुल 

पुजाको थालिमा बसेर 
मन्दिरको दैलो सम्म नछोइएका 
कसैको ह्त्केलाबाट उप्केर 
प्रेमिल मनहरु सम्म यात्रा नगरेका 
भमराले पनि चुम्बन गर्न अल्छी मानेका 
केवल बांच्नैको लागि जिइरहेका 
जिउँदो देखिनको लागि श्वास लिइरहेका 
चिसो हिउँ र शिरेटोमा पनि 
अथक, अविचलित भैईरहने

म बाटोमुनिको फूल 
म प्रीतिको फूल !

मेरो मन पनि पुग्दो हो 
बादलहरुको देशमा,
खुल्ला आकाशमुनि 
मलमलको बिछ्यौनामा ढल्किदा हाे, साँझहरुसँग। 
पानीको छालहरुसँग मिसिदै मिसिदै 
पुग्दाे हाे समुन्द्रको मुटुमा,
मैले पनि महशुस गर्दाे हुँ 
आफ्नोपन सम्झेर प्रेम 
र पराई भुलेर आत्मियता। 

अफसोस,
म प्रीतिको फूल !

चोटहरुले हिर्काउँदा हिर्काउँदा 
छिया छिया मुटु बोकेरै फुलेको फूल 
पीडा भुलेको फूल 
पिर - अत्तिको फूल 
पिरतिको फूल 

एउटा आजादिको फूल 
समयले हर खुशी लुटिएको खुशियालिमा 
झनै सर्वाङ्ग फुलेको फूल।

म प्रीतिको फूल 
एक असुगन्धित फूल। 

प्रकाशित मिति: : 2021-04-17 09:47:00

प्रतिकृया दिनुहोस्