अपराजित सिंगापुर छनाेटमा, नेपाल बाहिरियाे

नेपाल एक खेल खेल्नुअघि नै एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको होडबाट बाहिरिएको छ।

बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपाल एसिया कपबाट बाहिरिएको हो।  सिंगापुरले हङकङलाई १६ रनले पराजित गदै लगातार तेस्रो जित हात पार्‍यो।

 पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो। जवाफमा हङकङले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो।

इस्टर्न रिजनको शीर्ष दुईमा रहने टिम मात्र एसिया कप क्वालिफायरमा पुग्नेछ। प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल सुरुवाती दुई हारपछि नै शीर्ष दुईको होडबाट बाहिरिएको थियो। 

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो।

नेपालले अब अन्तिम खेलमा सिंगापुरलाई हराएपनि शीर्ष दुईमा पुग्ने छैन। किनकी हङकङ र मलेसियाबीच हुने खेलको विजेता शीर्ष दुईमा पुग्नेछ। ३ खेलबाट अपराजित सिंगापुर ६ अंकसहित शीर्ष स्थानमा छ। हङकङ र मलेसियाको समान ४ अंक छ।

दुवैले ३ खेल खेल्दा २ मा जित र १ मा हारको नतिजा निकालेका थिए। ३ खेलमा १ खेल मात्र जितेको नेपाल २ अंकसहित चौथो स्थानमा छ।

लगातार चारै खेल हारिसकेको घरेलु टोली थाइल्याण्ड अंकविहिन हुँदै प्रतियोगिता टुङ्ग्याइसकेको छ।

प्रकाशित मिति: : 2020-03-05 05:03:23

प्रतिकृया दिनुहोस्