खेलकुदमा काेराेनाकाे त्रास: ईपीएलदेखि विश्व कप छनोटसम्मका खेलहरु सर्दै

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले सबै खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ।

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह गरेसँगै राखेपाले यो निर्णय गरेको हो। 

खेल प्रतियोगिताहरु के गर्ने भन्ने छलफल भइरहेको राखेप सदस्य सचिव रमेश सिलवालले बताए। उनका अनुसार अहिले आयोजना भइरहेको खेलहरु भने यथावत राखिने छ।  

 ‘अहिले भइरहेका खेलहरुलाई रोक्न गाह्रो छ तर अब हुने प्रतियोगिता स्थगित गर्ने निर्णय गर्दै छौं। यसबारे राखेपले बिहीबार साँझसम्ममा निर्णय लिनेछ,’ उनले भने। 

यदि राखेपले खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएमा चैत १ गतेबाट हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट समेत प्रभावित हुनेछ।

विश्वकप छनोटका खेलहरुबारे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग छलफल गरेर निर्णय लिने सदस्य सचिव सिलवालले जानकारी दिए। नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खैल्ने तालिका छ। तर अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको बताइएको छ।

विश्वकप छनोटको समूह चरणको चारै अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदानमा खेल्नेछ। दशरथ रंगशाला तयार नभएको अवस्थामा कुवेतविरुद्धको होम गेम नेपालले भुटानमा खेलेको थियो।

नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो। यस्तै, अष्ट्रेलियासंग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो। अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो।

प्रकाशित मिति: : 2020-03-06 02:39:01

प्रतिकृया दिनुहोस्