फोहोरको डंगुरमा पुरियो सिसडोलबासीका सपना (भिडियोसहित)

मनीषा अवस्थी

काठमाडाैं

‘हामीमाथि दमन भएको छ। हामीलाई क्यान्सर लागेर मर्न बाध्य पारिएको छ। चिल्ला गाडी र माइक बोक्ने पत्रकारको विश्वास पनि छैन।’ 

काठमाडौंसँगै जोडिएको नुवाकोट ओखरपौवाबासीको आक्रोशपूर्ण आवाज हो यो । 

आँगनमै बनेको फोहोरको पहाडले बिगत १५ वर्षदेखि ओखरपौवाको सिसडोल क्षेत्र र वरीपरीका गाउँ दुर्गन्धित छन्। फोहोरको पहाड वरिपरी गिद्ध र कुकुरको आतंक छ। स्थानीयहरु फोहोरकै कारण गम्भीर बिरामी पर्ने गरेका छन् । त्यतिमात्रै होइन, फोहोरकै कारण बर्षयाममा वल्लोपल्लो गाउँ जाने बाटोसमेत बन्द हुन्छन्। 

चिल, गिद्ध, भुस्याहा कुकुरले फोहोर गाउँभरि फैलाउने र कुकुरहरूको अनियन्त्रित भीडले गाउँलेहरूलाई टोक्नेसमेत गरेको छ।

गाउँभरी फैलिएको गन्धका कारण  खानाखानसमेत नसकिने जस्ता कयौं समस्या झेलिरहेका छन्, यतिबेला सिसडोलबासी ।

ककनी गाउँपालिका वडा नम्बर १, २ र ३, धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ का स्थानीयको आँगनमा फोहोरको डंगुर छ । यसको प्रभाव काठमाडौंको तारकेश्वरका केही भूभागसम्म पर्ने गरेको छ।  

काठमाडौं र धादिङलाई जोडेर सुन्दर उपत्यका विकास गर्ने सपना देखेका सिसडोलवासीले काठमाडौंबाट पहिले फोहोर ल्याउँदा स्वागत गरेका थिए। तर, अहिले उनीहरू सरकारसँग निकै आक्रोशित र निराश छन्।  

स्थानीयले फोहोर फाल्न नदिएपछि तैनाथ प्रहरीहरू।


बिगत १४ वर्षदेखि सरकारसँग निरन्तर लडेका उनीहरूको बुझाई छ, राज्यले सिसडोलबासीलाई दमन मात्र गर्‍यो। 

स्थानीयद्वारा सञ्चालित तत्कालीन ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइट मुख्य समन्वय समितिका अध्यक्ष राममणि घिमिरे भन्छन्, ‘काठमाडौंबाट पहिलो पल्ट फोहोर ल्याउँदा गाडीलाई माला लगाउने मै हो। त्यतिबेला यहाँका ३ वटा स्थानीय निकाय, ६ वडा वडालाई एउटा उपत्यकाका रुपमा विकास गर्ने र फोहोरलाई मोहोरमा परिणत गर्ने सपना देखेका थियौं। तर, अहिले यो क्षेत्रको नाममा आफू  माथि उठ्ने बाहेक केही भएन।’

यसरी गएको थियो फोहोर सिसडोल

काठमाडौंको फोहोर बोकेर गएका गाडीको लाइन।


२०६१–०६२ सालमा तत्कालीन माओवादीको नेतृत्वमा सशस्त्र बिद्रोह चरम उत्कर्षमा थियो। बिद्रोहले बिस्थापित कयौं नेपाली काठमाडौं उपत्यकामा थुप्रिन पुग्दा यहाँको जनसंख्या ह्वात्तै बढेको थियो । जसका कारण राजधानी काठमाडौं फोहोरले दुर्गन्धित बन्यो। 

काठमाडौंको मूलपानीमा रहेको अस्थायी ल्याण्डफिल साइट फोहोरको डुङ्ग्रो बढी भएर बन्द भएपछि वागमती र विष्णुमती खोलाका किनार पनि फोहोरले पुरिन थालेका थिए। 

काठमाडौं नगरपालिकाका पूर्वमेयर पिएल सिंहको पहलमा एक दशकअघि नै मूलपानीको विकल्पको रूपमा नुवाकोट र धादिङको सिमामा पर्ने बञ्चरेडाँडामूनीको कोल्पुखोलामा दीर्घकालीन ल्याण्डफिल्ड साइट निर्माणको योजना अगाडि सारिएको थियो। तर, निर्माण पुरा नहुँदै उनको कार्यकाल पुरा भयो। र, योजना बीचैमा अल्पत्र पर्‍यो। 

सिसडोलमा फालिएको फोहोर


दशकपछि काठमाडौंको कूरूप बन्दै गएको माहौलका बीच नगरपालिकालाई फोहोर व्यवस्थापन गर्ने चुनौति थपियो। र, सिंहकै पहलमा बञ्चरेडाँडाको नजिकको हिसाबले काठमाडौं नगरपालिकाको टोली नुवाकोटको ओखरपौवा पुग्यो र स्थानीयसँग छलफलपछि ल्याण्डफिल्ड साइटको टुँगो लाग्यो।  

काठमाडौंको बालाजुबाट १४–१५ किलोमिटरको दुरीमा रहेको ओखरपौवाबासीलाई देशको राजधानीसँग जोडिन सडक आवश्यक थियो। उनीहरूको बर्षौंदेखिको सपना थियो, गाडी चढेर काठमाडौं आउने। त्यो सपना काठमाडौं नगरपालिकाले पुरा गर्ने सहमति बनेपछि कुरा मिल्यो–२ वर्षसम्मका लागि सिसडोलमा फोहोर फ्याँक्न दिने। 

फोहोरलाई माला लगाएर स्वागत

सिसडोल संघर्ष समितिका सदस्यहरू प्रतिनिधि सभा अन्तर्गत विकास समितिको बैठकमा भएको छलफलमा सहभागी हुँदै


२ जेठ २०६२ मा काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, तत्कालीन फोहोर व्यवस्थापनको जिम्मेवार निकाय स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्र र ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइट मुख्य समन्वय समितिबीच सहमति भएअनुसार सिसडोलमा २ लाख ७५ हजार मेट्रिक टन फोहोर राख्ने गरी अस्थायी ल्याण्डफिल्ड साइड बनाउने विषयमा हस्ताक्षर भएको थियो। 

ओखरपौवास्थित स्यानिटरी ल्याण्डफिल्ड साइट सञ्चालनसम्बन्धि सम्झांैता २०६२ मा काठमाडौं, नुवाकोट र धादिङ जिल्ला रहने गरी उक्त क्षेत्रलाई व्यवस्थित उपत्यकाको रुपमा विकास गर्ने उल्लेख छ। जसका लागि एकद्धार प्रणालीबाट बजेट छुट्याउने र स्र्रोत परिचालन केन्द्रले जिम्मा लिने सहमतिपत्रमा उल्लेख थियो। 

निर्माणाधिन बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट।


सहमतिअनुसार २२ जेठ २०६२ मा विश्व वातावरण दिवसको अवसर पारेर नुवाकोटको ओखरपौवामा फोहोरको पहिलो गाडी गयो। ओखरपौवाबासीले जुलुस नै निकालेर फोहोरको गाडीलाई माला लगाएर स्वागत गरेका थिए। 

स्थानीयद्वारा सञ्चालित तत्कालीन ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइट मुख्य समन्वय समितिका अध्यक्ष राममणि घिमिरे भन्छन्, ‘काठमाडौंबाट फोहोरको गाडी जाँदा माला लगाएर स्वागत गरेका थियौं। त्यो ठूलो जुलुसको नेतृत्व मैले नै गरेको थिएं। काठमाडौबाट जानेहरु बिरोध गर्न आएका हुन कि भनेर डराएका थिए । पछि स्वागतमा आएको थाहा पाएपछि चकित परे ।’

पूरा नभएको सपना 

सिसडोलमा भएको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा परि घाइते भएकी एक स्थानीय महिला


लामो सशस्त्र युद्धले बिश्राम पायो। अन्तरिम संबिधान जारी भयो । पहिलो संबिधानसभाको चुनावले उक्त क्षेत्रबाट बिमला सुवेदीलाई संबिधानसभा सदस्य चयन गर्यो । तर, फोहोरमै ठूलो सपना देखेका ओखरपौवाबासीबीच भने बिरोधका स्वर सुनिन थाले । 

सहमतिअनुसार कुनै पनि काम नभएपछि बिस्तारै स्थानीय आन्दोलित नै बन्न थाले । करिब साढे २ वर्षपछि फोहोर नफाल्ने सहमति कार्यान्वयन हुँदै भएन। 

अहिलेसम्म १ सयभन्दा बढी आन्दोलन भइसके। ओखरपौवाबासीका आवाजलाई सुन्दै नसुनी जबरजस्त काठमाडौंले फोहोर थुपार्दै गयो। संग्लो पानी बगिरहने ओखरपौवाबासीको प्रिय कोल्पुखोला दुर्गन्धित बन्न थाल्यो।  

कोल्पुखोला अर्थात कनकना नदी। जुन फोहोरको पहाडको फेदबाटै बग्छ। अहिले भने उक्त खोलाको नाम लिचेड खोला भएको छ। अर्थात फोहोरको झोल बग्ने खोला। पहिला पहिला सिसडोलबासीले सिचाईं धानिरहेको कोल्पुखोलाको पानी अहिले खेतीमा पस्यो भने खेती नै मर्छ । बाँचिहाल्यो भने फल नै लाग्दैन। 

फोहोर लैजानुपूर्व भएका सहमतिमा लिचेड प्रशोधन गरे पानी शुद्धीकरण समेत गरिने भनिएको थियो। अझै स्थानीयसँग त यो खोलाको पानी शुद्धीकरणपछि पिउनसमेत मिल्छ भनिएको थियो। स्थानीय सन्तराम श्रेष्ठ भन्छन्, ‘त्यतिबेला पानी प्रशोधन मात्रै होइन, पिउन योग्य बनाइन्छ भनिएको थियो। अहिले फोहोर झोल खाएर पशु चौपाया ठहरै भइरहेका छन्।’

सिसडोलको फोहोरबाट निस्किएको दुषित पानी।


अर्का स्थानीय विश्वास डिसी भन्छन्, ‘हामी बच्चाबेलामा अञ्जुलीले उठाएर पिउने गरेको कोल्पुखोला हेर्दाहेर्दै दुर्गन्धित बन्यो। सिचाईं गर्दा खेतीबाली नै नष्ट हुन थाल्यो। अहिले गोडामा पर्यो भने चिलाएर अस्पताल नै पुग्नुपर्ने हुन्छ।’ 

उनीहरुकैै शब्दमा फोहोरका कारण कयौंको रोगले ज्यान गइसकेको छ भने कयौंको फोहोरका गाडीले कुल्चेर ज्यान गएको छ।
घिमिरेका अनुसार यो बीचमा ओखरपौवा र प्रभावित वरीपरीका क्षेत्रबाट १४÷१५ जनाको क्यान्सरका कारण मृत्यु भइसकेको छ। ११ जनाको फोहोरको गाडीले कुल्चेर मृत्यु भएको थियो। 

कयौं मानिस झाडापखालाबाट पिडित भएका छन्। दशौं,बालबच्चाको मृत्यु भयो। यी सबै फोहोरकै कारण भएको उनको दाबी छ। उनले भने, ‘१४–१५ जनाको क्यान्सरबाट मृत्यु भयो । यो फोहोरका कारण नै लागेको क्यान्सर हो । ११ जनालाई हाम्रै अगाडी फोहोरका गाडीले कुल्च्यो। अन्नवाली उब्जाउ ठप्प नै बनिसक्यो। आजभन्दा ४ वर्षअगाडि मात्रै गाउँभरीकालाई झाडापखाला लाग्दा टेकु अस्पताल पुरै भरिएको थियो। अब हामीले कति सहनु?’

सिसडोलको फोहोरबाट निस्किएको दुषित पानी


स्थानीयका अनुसार सुरु सुरुमा फोहोरबाट प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति स्वरुप प्रति घरको प्रति वर्ग फिट ५० रुपैयाँ दिइन्थ्यो । २०७० सालसम्म उनिहरुले मासिक ६ हजार २०० रुपैयाँ बुझ्दै आएका थिए। अहिले बर्षको १२–१३ हजार रुपैयाँ मात्र पाउने गरेको उनीहरूको भनाई छ। यसमा पनि नयाँ घरहरुको नाम समावेश भएको छैन ।

सिसडोल ल्याण्डफिल्ड साइट।


शुरुमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाको मात्रै फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलमा हाल काठमाडौं, ललितपुर र भक्तपुरका १७ वटा नगरपालिकाबाट करिब ११ सय मेट्रिक टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ ।  जसमध्ये ७० देखि ७५ प्रतिशत फोहर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ । 

प्रकाशित मिति: : 2020-03-17 19:53:00

प्रतिकृया दिनुहोस्