मधेसका नेता भन्छन्- तुरुन्त भारततर्फको खुला सीमा ‘लक डाउन’ गरिनुपर्छ

नेपालन्यूज

काठमाडाै‌ं

नेपालको सीमा नजिक रहेको बिहारको राजधानी पटनामा कोभिड-१९ का कारण एक भारतीयको निधन भएपछि तराई-मधेसका नेताहरूले कडाइका साथ जाँच गराई प्रवेश गराउनेदेखि आवाश्यक्ता पर्दा ‘लक डाउन’ र कर्फ्युसमेत लगाउन माग गरेका छन्।

हालै मात्र कतारबाट फर्किएका ३८ वर्षीय सैफ अलिको पटनास्थित एम्स अस्पतालमा कोभिड-१९ कारण आइतबार निधन भएपछि अधिकांश मधेसी नेताले कडाइका साथ स्वास्थ्य जाँच गर्नुपर्ने र आवश्यक्ता पर्दा ‘लक डाउन’ र कर्फ्युसमेत लगाउन तयार हुनुपर्ने जनाएका हुन्।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले विश्व स्वास्थ्य संगठनले पनि नेपाल कोभिड-१९ को जोखिम क्षेत्र भन्दै सीमा नाका बन्द गर्न दिएको सुझावप्रति सर्तक रहनु पर्ने जनाएका छन्।

‘नेपालसँग सीमा जोडिएका चीन-भारतलगायत सबै सीमा केही दिनका लागि भए पनि बन्द गरेर सम्भावित जोखिमबाट बच्नका लागि कारबाही प्रक्रिया अघि बढाउनु पर्छ,’ निधिले नेपालन्युजसँग भने, ‘त्यसमाथि, केहीदिन घरमा नै बस्ने र जानकारहरूले कोभिड-१९ का बारेमा जनचेतना फैलाउने काममा लाग्नुपर्छ।’ उनका अनुसार कोभिड-१९ सर्ने तरिकार र सम्भावित जोखिमबाट बच्ने उपायका बारेमा पनि सञ्चार माध्यमबाट सर्वसाधारणलाई निरन्तर रूपमा जानकारी गराउनु पर्छ।

विश्वलाई नै ‘लक डाउन’मा राख्न बाध्य पारेको कोभिड-१९ को सम्भावित जोखिम नियन्त्रण, न्यूनीकरणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैजसो निकायले मेहनत गर्नुपर्ने पनि निधिको सुझाव छ।

प्रकाशित मिति: : 2020-03-23 05:58:48

प्रतिकृया दिनुहोस्