स्विस डाक्टर भन्छन्, कोरोना भाइरसले समाइहाले, ब्रुफेन होइन सिटामोल खानुस्

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

कोरोना भाइरसकाे संक्रमणले समाइहाले नियमित सिटामोल खान स्विस डाक्टरहरुले सुझाव दिएका छन्। ब्रुफेनको अत्यधिक प्रयोगले रोगको प्रतिरोधात्मक क्षमता कमजोर भएको पाइएको फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभियर भेराँले ट्विट गरेपछि कोरोना भाइरसले समातेको बेला ब्रुफेन खान हुने वा नहुने भन्ने बारे बहस शुरु भएको थियो। 

अमेरिकी नेशनल इन्टिच्यूट अफ पब्लिक हेल्थले केही महिनाअघि गरेको अनुसन्धानमा ब्रुफेनको अत्याधिक सेवनले रोेग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ भनी जर्नल प्रकाशित भएकाे थियो। सोही अनुसन्धानलाई आधार मानेर मृतकको औषधी सेवनको इतिहास हेरी स्वास्थ्य मन्त्री भेराँले ब्रुफेनको साटो सिटामोल खानु भनी सामाजिक सञ्जालमा ट्वीटमार्फत् सबैलाई अनुरोध गरेका थिए।

उनको भनाइ सार्वजानिक हुने बित्तिकै फ्रान्समा सिटामोल खोसाखोस बिक्री भएको थियो। हुन त फ्रान्सको संघीय जनस्वास्थ्य विभागले ब्रुफेन र सिटामोलले कोरोना बिरामीमा के असर हुन्छ? भन्ने विषयमा कोरोनाका बिरामीमा अध्ययन भइरहेको बताएकोछ।

जनस्वास्थ्य विभागले कोरोनाको बेला उच्च ज्वरो आउने हुँदा सिटामोल खानु उचित हुने तर लामो समयदेखि ब्रुफेन खाइरहेका दीर्घरोगीले भने ब्रुफेन छाडिहाल्न नहुने बताएको छ। 

अमेरिकाको अनुसन्धानलाई आधार मानेर डाक्टरहरुले सिटामोल चलाउन थालेपछि र फ्रान्सका स्वास्थ्य मन्त्रीको भनाई सार्वजानिक भएपछि स्विटजरल्याण्डमा पनि सिटामोल खोसाखोस हुन थालेकोे हाे।

ओषधी आवश्यक परेकाले सिटामाेल नपाउने तर केही नभएकाले घरमा सिटामोल थुपार्ने घटना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले एकजनालाई एक डब्बा मात्र सिटामोल दिन फार्मेसीहरुलाई आदेश दिएको छ। 

ब्रुफेनको विषयमा बहस छेँडिएपछि बेलायतको नेशनल हेल्थ सर्भिसले नियमित सेवन गरिरहेका बिरामीलाई कोरोना लागेपछि ब्रुफेन नछाड्न सल्लाह दिएको छ। उसले भनेको छ– ब्रुफेनले बेठिक गर्छ भन्ने प्रमाणित नभइसकेको हुनाले सिटामोल मात्रै खानुपर्छ भन्ने होइन। के खाने र के नखाने डाक्टरको सल्लाहलाई मान्नुपर्छ।

जेनेभा यूनिभर्सिटी अस्पतालमा पनि कोरोना संक्रमित बिरामीलाई ब्रुफेन नचलाई सिटामोल नै दिइएको कुरा अखबारहरुले लेखेका छन्। तर विश्व स्वास्थ्य संगठनले भने ब्रुफेनले हानी गर्ने आफूहरुसँग तथ्य नभएको बताएको छ।

प्रकाशित मिति: : 2020-03-23 19:47:06

प्रतिकृया दिनुहोस्