क्यानडा र अस्ट्रेलियाले सन् २०२० जापानमा आयोजना हुने ओलम्पिक प्रतियोगिता खेल्न असमर्थता जनाएपछि आयोजनाको तिथी अर्को वर्ष सर्ने सम्भावना बढेको छ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि सोमबार संसदमा कोरोना भाइरसको प्रभावका कारण पूर्ण रूपमा प्रतियोगिता सञ्चालन गर्न नसक्ने अवस्थामा ओलम्पिक आयोजना सार्न प्रस्ताव गरेका थिए।
आबेले यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लाई पनि जानकारी दिइसकेको र केही साताभित्र स्थितिको अध्ययन गरेर आईओसीले निर्णय दिने बताइएको छ।
आबेले सासंदहरूलाई सम्बोधन गर्ने क्रममा तत्कालै स्थगित गर्ने सम्भावना नरहेको बताएको थिए। उनले आईओसीको स्पष्ट धारणा नआएसम्म जापानले केही नबोल्ने बताए।
टोकियो ओलम्पिक आउँदो २४ जुलाईदेखि सुरु हुने पूर्वनिर्धारित कार्यक्रम हो। ‘खेलाडीहरूको सुरक्षा नै सबैभन्दा ठूलो विषय हो। त्यसैले पूर्ण तयारीका साथ खेल सञ्चालन गर्ने अवस्था बनेन भने यसको अपरिहार्यता देखिदैन,’ उनले भने।
आईओसीले टोकियो ओलम्पिकको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुअघि नै क्यानडाले खेलाडी नपठाउने जानकारी दिइसकेको छ। उसले अझै आईओसी र अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपिसी) तथा विश्व स्वास्थ्य संगठनलाई एक वर्षको लागि खेल सार्न अपील गरेको छ।
यस्तै, अस्ट्रेलियाको ओलम्पिक कमिटीले पनि विज्ञप्ती सार्वजनिक गर्दै आफ्नो देशका खेलाडीले टोकियो ओलम्पिकका लागि २०२१ मा तयारी गर्ने बताएको छ। उसले अहिलेको अवस्थामा आफ्ना खेलाडी घरभित्र र बाहिर आफूलाई तयार गर्न असमर्थ रहेको बताएको छ।
विभिन्न देशले ओलम्पिक सार्न दिएको प्रस्तावलाई आईओसीले पनि अहिले मनन गर्न थालेको छ। उसले जापान र विश्वमा देखिएको परिवर्तित समयलाई ध्यानमा राखेर उचित कदम उठाउने बताएको छ।