काेरोना भाइरसकाे संक्रमण रोक्न फ्रान्सले मलेरियामा प्रयाेग हुने औषधि परीक्षण गर्दै

तीब्र गतिमा फैलिरहेकाे काेरोना भाइरसकाे संक्रमण रोक्न फ्रान्सेली सरकारले क्लोरोकिन नामक औषधि परीक्षण गर्ने बताएको भोलिपल्ट औषधिकाे बिषयलाई लिएर विश्वभरीबाट बिरोधाभासपूर्ण टिप्पणी सुरु भएको छ। 

फ्रान्सको मार्सेइ शहरको एक सरकारी अस्पतालमा कार्यरत प्रख्यात बैज्ञानिक दिदिए राओउलले फ्रान्सेली सरकारलाई क्लोरोकिनको प्रयोग बिस्तार गर्न सुझाएका थिए । उनको सुझावपछि फ्रान्सेली सरकारले यो मुख्य औषधिसँगै थप तीन सहायक औषधि पनि परीक्षण गर्न अनुमति दिएको थियो। 

विश्व स्वास्थ्य संगठनले साेमबार बिशेष बैठककाे आयाेजना गर्दै आजसम्म कोरोनाको उपचारमा कुनै औषधि प्रयोगमा नआएको र नल्याउन अनुरोध गरेको छ । उसले कुनै औषधि बजारमा आउन पटक–पटकको बैज्ञानिक परीक्षण र नतिजाबाट मात्र सम्भव हुने स्पष्ट पारेकाे छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि एउटा ट्वीट गरेर भनेका थिए– देशको स्वास्थ सेवा विभागले पनि यो औषधि प्रयोगका लागि अनुमती दिएको छ। तर बिबिसीले गरेकाे अनुसन्धानमा  अमेरिकी स्वास्थ्य बिभागले यस्तो कुनै अनुमति दिएको नपाइएको बताएको छ। 

वास्तवमा क्लोरोकिनकाे प्रयाेग चीन, अमेरिका, यूरोप र भारतमा समेत हुँदै आएको छ। यो औषधि मूलत: मलेरियाका बिरामीलाई दिने गरिन्छ। तर विश्वमा भाइरस संक्रमितहरुको ज्यान बचाउन अरु कुनै उपाय बाँकी नदेखिएपछि यसलाई प्रयोगमा ल्याइएको छ।

यसकाे प्रयाेग चीनमा प्रयोग गरिएको जानकारीमा आएको छ। तर चीनमा यसलाई कसरी प्रयाेग गरियाे र यसकाे नतिजा कस्ताे आयो भन्ने कुरा सार्वजनिक गरिएको छैन। फ्रान्सेलीहरुले भने चीनमा भएको यो औषधिको प्रयोगसँग कुनै सरोकार राखेका छैनन्। 

विश्व स्वास्थ्य स‌ंगठनसहित औषधि बैज्ञानिकको समूहले यसकाे ब्यापक आलोचना र बिरोध गरिरहेकाे बेला फ्रान्सका प्रधानमन्त्री फिलिप एडवार्डले भने आफ्नो देशकाे निर्णयको बचाउ गर्दै भनेका छन्,‘यो परीक्षण चिकित्सकको प्रत्यक्ष निगरानीमा हुन गइरहेको छ। फ्रान्सले करिव ८ सय बिरामीको छनाेट गरिरहेको छ। हामी नतिजा हेर्न आतुर छौँ‘।’

टेलिभिजन टिएफ वनका पत्रकारको प्रश्नमा उनले भने, ‘यो औषधि सबै कोरोना संक्रमितमा प्रयाेग हुँदैन। यो औषधि यस्ताे बिरामीलाई दिइने छ, जसले यसका साइड इफेक्ट पचाउन सक्छन्।‘

फ्रान्समा कोरोना संक्रमितको मृत्यू दर दिनप्रति दिन बढीरहेको छ । यो औषधिको प्रयोगले मृत्यू दर घट्यो भने फ्रान्स एक हदसम्म आफ्ना नागरिक बचाउन सफल हुनेछ। 

यसलाई अहिले नै जादुको छडी मानिएको छैन । फ्रान्सले समस्याको अस्थाई समाधान खोजिरहेको छ। यस्तै उसले औषधि बिज्ञानको क्षेत्रमा नयाँ क्रान्तिकाे तयारी पनि गरिरहेको छ। जसमा मानिसमा रहेको रोग प्रतिरोधात्मक क्षमताको स्तर निर्धारण गर्ने र कुनै पनि मानिस भाइरसकाे संक्रमणमा आए नआएको पत्तो लाउने प्रविधि विकाश गर्ने।  

फ्रान्सेली सरकारकाे याे घाेषणासँगै बिहानैदेखि मार्सेइ शहर वरपरका मानिसहरु आफ्नो शरीरमा कोरोना भाइरसकाे संक्रमण भए नभएको परीक्षण गर्न मार्सेइ शहरको अस्पतालमा चार घन्टासम्म लाइन लागेकाे दृश्य देखिएकाे थियाे। 

उनीहरु मध्ये कतिपयले आफ्नो शरीरमा कोरोनाकाे संक्रमण देखिएको भए यहि अस्पतालका संक्रमण रोग बिशेषज्ञ दिदिए राओउलले सिफारिस गरको क्लोरोकिन लिन र परीक्षणमा रहन तयार भएको बताएका छन्।

बिश्वव्यापी बिरोध भएपनि फ्रान्सेलीहरु भने यो ‘मल्टिपल ड्रग कम्विनेशन’ टेस्टमा स्वतस्फूर्त भाग लिन तयार देखिएका छन्। 

प्रकाशित मिति: : 2020-03-24 19:35:12

प्रतिकृया दिनुहोस्