कोरोना संक्रमितकाे उपचार सरकारले गर्छ: स्वास्थ्य मन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको उपचारको जिम्मा सरकारले लिने बताएका छन्।

बुधबार नेपालमा कोरोना भाइरसको अवस्थाको बारेमा जानकारी दिन गरेको प्रेस विफ्रिङमा नेपाली र विदेशीमा कुनै विभेद नगरी सबैको उपचार सरकारले गर्ने उनले बताएका हुन्।

यस्तो अवस्थामा सबैले साथ दिन मन्त्री ढकालले आग्रह गरेका छन्। ‘यस्तो अवस्थामा हामी सबैको साथबाट यसको सामना गर्छौँ। हाम्रो सानो असावधानीले परिवार, छिमेक, समाज र देशमा क्षति पुग्न सक्छ। त्यसैले यस विषयमा खेलाची नगरौँ’, उनले भने।

मन्त्री ढकालले नेपालमा भेटिएका कोरोना संक्रमितहरु आएका विमानहरुको विस्तृत जानकारी दिने भन्दै ती विमानबाट आएका अन्य यात्रुहरुको ‘फलो’ भइरहेको बताए।

यसैगरी उनले अत्यावश्यक वस्तुलाई सहज बनाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए। राति २ बजेदेखि बिहान ६ बजेसम्म भएपनि अत्यावश्यक बस्तुको आपूर्ति सहज गर्ने विषयमा छलफल गरिने उनको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-03-26 06:05:49

प्रतिकृया दिनुहोस्