प्युठानमा विदेशबाट फर्केकाको लगत सङ्कलन गरिँदै

रासस

झिमरुक

प्युठानका नौ वटै स्थानिय तहले देशभन्दा बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलन थालिएको छ। दुई नगरपालिका र  सात गाउँपालिकामा लगत सङ्कलन कार्य थालिएको हो। 

वडा कार्यालयमार्फत लगत सङ्कलनको कार्य गरिएको छ। आईतबार विपद् व्यवस्थापन समितिको बैठकले स्थानिय तहले लगत सङ्कलन गर्न स्थानिय तहका प्रमुखलाई आग्रह गरेसँगै स्थानीय तहले लगत सङ्कलन गर्न थालेको हो। 

प्युठान नगरपालिका वडा नं ९ र १० ले विदेशबाट आएका मानिसको खोजीकार्य थालेको छ। विदेशबाट मानिस दैनिकरूपमा आउन थालेपछि लगत सङ्कलन गर्न लागिएको वडा नम्बर ९ का अध्यक्ष नेहरसिंह केसीले जानकारी दिए।

विदेशबाट फर्केकामा कोरोना भाइरस संक्रमण हुन सक्ने त्रास बढेपछि उनीहरूको लगत सङ्कलन गरी व्यवस्थापन गर्न थालिएको केसीको भनाइ छ। 

अहिलेसम्म वैदेशिक रोजगारीबाट आएका मध्ये २५ जनाको लगत तयार गरिएको स्वास्थ्य चौकी प्रमुख रन्जना केसीले बताए। अझै आउने क्रम नरोकिएको र यसले गाउँमा बिकराल समस्या ल्याउन सक्ने भन्दै सबै सचेत रहनुपर्ने उनले बताए।

विदेशबाट फर्केकाको लगत सङ्कलन गरि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको वडा सचिव धु्रव जिसीले जानकारी दिए। 

यससँगै जिल्लाका अन्य स्थानीय तहले पनि सोमबारदेखि लगत सङ्कलनको कार्य थालेका छन्। स्थानीय तहले कतार, दुबई र भारतलगायतका देशबाट फर्केका व्यक्तिलाई  घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

 विदेशबाट फर्किएकाहरू १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ। प्रत्येक वडा टोलमा स्वास्थ्यकर्मीसहितको टोलीले विदेशबाट फर्किएका व्यक्तिलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी दिने र आ–आफ्नो घरमा अरुसँग सम्पर्क नहुने गरी बस्न भनिएको छ। 

प्रकाशित मिति: : 2020-03-26 07:14:23

प्रतिकृया दिनुहोस्