रक्षक नै भक्षक

अनैतिक कार्य गर्ने पाँच हजार प्रहरीमाथि प्रहरीकै डण्डा

गत जेठ महिनामा लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरेका नाइजेरियन नागरिक जेम्स एडी जेबीलाई स्वदेश फिर्ता गर्न अध्यागमन विभागले आवश्यक तयारी गर्दै थियो।

उनलाई विभागको कालिकास्थानस्थित हिरासत कक्षमा राखिएको थियो। यही क्रममा जेम्सले हिरासत कक्षमै दुई वटा मोबाइल फोन किने। सामाजिक सञ्जालमा फेक एकाउन्टहरु खोले। अनि, नेपाली नागरिकलाई फ्रेन्ड रिक्वेस्ट पठाए।

काभ्रेपलाञ्चाेक घर भएका हरिकृष्ण भट्टराईले तुरून्तै रिक्वेस्ट एक्सेप्ट गरे। फेसबुकमा कुरा गर्न असुरक्षित भएको बताउँदै ह्वास्एपमा आउन आग्रह गरे। यसै क्रममा जेम्सले आफू अमेरिकन आर्मी भएको बताए।

सिरियाको अपरेसनमा रहँदा एक धनाढ्यको घरमा छापा मारेको अनि घरमा मनग्य रकम फेला परेको र उक्त रकम आपसमा बाँड्दा ९० लाख अमेरिकी डलर आफ्नाे भागमा परेको बताए। यसरी उक्त रकम अमेरिका लैजान नसकेकाले नेपाल ल्याएको तर कुरियर बापतको रकम बुझाउनुपर्ने रकम आफूसँग नभएको लगायत जेम्सले सबै कुरा भट्टराईलाई बताए। कुरियर गरे बापतको रकम उपलब्ध गराए ९० लाख अमेरिकी डलरमध्ये केही रकम दिने प्रलोभन पनि जेम्सले दिए।

भट्टराईलाई उनको गतिविधिप्रति शंका लाग्यो। र, तत्कालै प्रहरीलाई खबर गरे। प्रहरीलाई सबै घटना विवरण भनेपछि प्रहरीले पनि जेम्सले भने अनुसार गर्न भन्यो। जेम्सले भने बमोजिम भट्टराईले १ लाख २४ हजार ६ सय ६० रुपैयाँ गणेश तामाङको बैंक खातामा जम्मा गरिदिए। अनि, उक्त रकम झिकेर गणेश र उनका साथी सुरेश प्रधानले प्रहरी हवल्दार चन्द्रदेव भट्टको बैंक खातामा राखिदिए।

त्यसपछि मात्र जेम्सलाई ठगी गर्न अध्यागमनकै प्रहरीले सघाइरहेको रहस्य खुल्यो। जेम्सलाई हिरासत कक्षमा मोबाइल उपलब्ध गराउने, रिचार्ज गर्ने र अध्यागमनको फोन उपलब्ध गराउने कामसमेत उनीहरूले नै गराउने गरेको पत्ता लाग्याे।

त्यस लगत्तै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धन व्युराे (सिआबी)ले उक्त घटनामा अनुसन्धान गर्न थाल्याे। अनुसन्धानमा जेम्स एडी जेबीलाई विभागको सुरक्षामा कार्यरत प्रहरी हवल्दार चन्द्रदेव भट्टले सघाएकाे र जेम्सले ठगी गरेको रकम प्रहरी हवल्दार भट्टको एभरेस्ट बैंकको खातामा जम्मा गर्दै आएका थिए। ठगीका लागि हिरासत कक्षमा मोबाइल फोन उपलब्ध गराउने मात्र नभई रिचार्जसमेत हवल्दार भट्टले दिने र धन्दाका लागि भट्टले नै जेम्सलाई अध्यागमनको फोनसमेत प्रयोग गर्न दिने गरेका थिए। जसका कारण उनी निलम्बनमा परे।

०००

गत साउन १८ मा धनगढी उपमहानगरपालिका- ३ मिलनचोकस्थित प्रहरी चाैकीमा एएफसी रेष्टुरेन्टमा मानिसहरु जुवा खेलिरहेकाे भन्ने सूचना प्राप्त भयाे। सूचनाका आधारमा सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटियाे।

तर, उनीहरूमाथि रकम असुल्दै जुवाडे भगाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको संयोजकत्व तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उनीहरु तीनै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

घटनामा प्रदेश प्रहरी कार्यालयका हवलदार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्रबहादुर खड्का र प्रेमसिंह धामी तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवर निलम्बनमा परे।

०००

यसैगरी गत जेठ १७ गते सिराहकाे लहान नगरपालिका- २३ गढिया चोकस्थित पूजा होटल एण्ड एसके मदिरा पसलमा गस्तीमा खटिएका तीन प्रहरीले मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन खाेजे। प्रहरीले नियन्त्रण गर्न खाेजेपछि सञ्चालक त्यहाँबाट भागे।

त्यस अवस्थामा प्रहरीले पसलबाट केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियाे सार्वजनिक भएपछि सिराहा प्रहरी कार्यालयले रक्सी चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर र जवान अन्नुकुमार राय र नरेश कुमार रायसहित तीन जनालाई निलम्बन गरेकाे थियाे।

०००

यसैगरी केही समयअघि इलाम प्रहरी कार्यलयमा कार्यरत विनाेद पराजुली (नाम परिवर्तन) प्रहरी सहायक निरीक्षक ड्युटीमा खटिएका थिए।

ड्युटीमा खटिएका उनले सिनियरकाे ख्याल नै नगरी माेबाइल चलाउँदै बस्न थाले। तर, जब सिनियरले यस विषयमा स्पष्टीकरण मागे, पराजुलीले झन् बहाना बनाउँदै  स्पष्टीकरण दिन चाहेनन्।

प्रहरी सहायक निरीक्षककाे उक्त व्यवहारका कारण बैठक बसी पराजुलीकाे पद घटुवा गरियाे। उनी प्रहरी सहायक निरीक्षककाे दर्जाबाट प्रहरी वरिष्ठ हवल्दारमा पुगे।

हामीले ‘प्रहरी मेराे साथी’ लेखिएकाे बाेर्ड त सबैले देखेका छाैँ। हामीले साेचिरहेका हुन्छाैँ, प्रहरीहरू सधैं अनुशासित हुन्छन्। तर, प्रहरीले आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले वर्षाेनि सयाैँ प्रहरी कर्मचारीलाई कारबाही गर्दै आइरहेकाे छ।

नेपाल प्रहरीकाे तथ्यांक हेर्दा प्रत्येक वर्ष करिब दुई हजार प्रहरी विभिन्न कारणले कारबाहीमा परेका छन्। 

 


आर्थिक वर्ष २०७७\२०७८ काे तथ्यांक हेर्ने हाे भने प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायव नायव उपनिरीक्षक ७ जना, प्रहरी निरीक्षक ३२ जना, प्रहरी नायव निरीक्षक ९२ जना, प्रहरी सहायक निरीक्षक १ सय ५३ जना प्रहरी हवल्दार ५ सय ३ जना, प्रहरी जवान १ हजार १ सय ६२ र प्रहरी कार्यलय सहयाेगी २५ जनासहित १ हजार ९ सय ५२ जना विभिन्न कारबाहीमा परी बर्खास्त वा निलम्बनमा परेका छन्। जसमा १ सय ६६ जनालाई नाेकरीबाट हटाइएकाे, २७ जना बर्खास्त भएका, १ हजार ३ सय ९८ जना अन्य कारबाहीमा, ८ जनाकाे पद घटुवा गरिएकाे, १ सय २७ जना तल्लाे टाइममा घटुवा भएका तथा २ सय ५६ जना निलम्बनमा परेका छन्। 

यसैगरी यसै आर्थिक वर्ष २०७९ काे माघ मसान्तसम्मकाे तथ्यांक हेर्दा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव निरीक्षक ४ जना, प्रहरी निरीक्षक २० जना, प्रहरी वरिष्ठ नायव निरीक्षक ४, प्रहरी नायव निरीक्षक २५, प्रहरी सहायक निरीक्षक ४४, प्रहरी वरिष्ठ हवाल्दार २२, प्रहरी हवल्दार १ सय ४१, प्रहरी सहायक हवल्दार १ सय ४३, प्रहरी जवान ३ सय ५४ तथा प्रहरी कार्यलय सहयाेगी १३ गरी उक्त वर्ष ७ सय ७१ प्रहरीहरू कारबाहीमा परेका छन्। जसमा १ सय १५ जनालाई नाेकरीबाट हटाइएकाे, १ जना बर्खास्त भएका, ५४२ जना अन्य कारबाहीमा परेका, १३ जनाकाे पद घटुवा गरिएकाे, २३ जना तल्लाे टाइममा घटुवा भएका तथा ७७ जना निलम्बनमा परेका छन्। 

तथ्यांकलाई हेर्दा अघिल्ला वर्षहरूकाे तुलनामा पछिल्लाे वर्षमा कम मात्रामा प्रहरीहरू कारबाहीमा परे पनि उल्लेखीय मात्रामा भने कमी आउन सकेकाे छैन।

प्रहरी बनेर देशकाे सेवा गरिसकेपछि देशकाे कुनै पनि क्षेत्रमा दखल पुर्‍याउने कार्य गरेमा कारबाही गर्ने गरेकाे नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पाेषराज पाेखरेल बताउँछन्।

‘प्रहरीले विभिन्न नीति तथा नियममा रहेर कार्य गर्नुपर्छ। नीति नियम तथा प्रहरीकाे छुट्टै आचरण हुन्छन्। यदि केही प्रहरीले आफ्नाे आचरण बाहिर गएर कार्य गरेकाे पाइएमा निकायले अपराधकाे आधारमा कारबाही गर्छ। प्रहरीकाे धर्म भनेकाे नै देशकाे सेवा गर्नु हाे,’ उनले भने, ‘तर, छुट कसैलाई हुँदैन, गल्ती अनुसारकाे सजाए पाउँछ।’

प्रकाशित मिति: : 2023-04-09 11:09:00

प्रतिकृया दिनुहोस्