बेल्जियमबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण

बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। युरोपेली देश बेल्जियमबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो।

उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो। त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो।

बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो। नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएपनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेको बताइएकाे छ।

तर कोरानाको संक्रमण पुष्टि भएकी उनीसँगै उनकाे परिवारलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्राेतले बतायाे।

यससँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-03-29 05:13:17

प्रतिकृया दिनुहोस्