भीमदत्त नगरपालिकामा १०० शय्याको क्वारेन्टाइन निर्माण

रासस

कञ्चनपुर

भीमदत्त नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणका शङ्कास्पद बिरामी राख्नका लागि १०० शय्याको क्वारेन्टाइन तयार गरिएको छ। 

महेन्द्रनगर नयाँ बसपार्क नजिक अनमी तथा सिएमए तालिम केन्द्र (आइसिएच) मा १०० शय्याको क्वारेन्टाइन स्थापना गरिएको हो।

नगरपालिकाकाले कोरोना सङ्क्रमण फैलिएपछि नेपाली सेनासित समन्वय र सहकार्य गरी क्वारेन्टाइन स्थापना गरेको हो। 

आइसिएचका प्रतिनिधिसहित नगरपालिका कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले कोरोना सङ्क्रमितका लागि आइसिएचको १०० शय्या भएको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो।

नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना सङ्क्रमणको महामारीलाई मध्यनजर गरी नेपाली सेनाको सहयोगमा १०० शय्याको क्वारेन्टाइन स्थापना गरिएको बताए।

'विश्वव्यापी रूपमा कोरोनाको महामारी फैलिरहेको छ, पश्चिमी सीमा नाकाका कारण नगरपालिका कोरोनाको उच्च जोखिममा छ' नगर प्रमुख विष्टले भने, 'यो अवस्थामा कोरोना सङ्क्रमित व्यक्ति भेटिएमा तत्काल राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको छ। यसमा नेपाली सेनासहित सरोकारवाला निकायको सहयोग छ। कसैमा कोरोनाको सङ्क्रमण देखिएमा तत्काल क्वारेन्टाइनमा राख्छौँ,  त्यसका लागि टिम तयारी अवस्थामा छ।'

नगर प्रमुख विष्टले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी थप स्थानमा क्वारेन्टाइन स्थापना गरिने जानकारी दिए। विभिन्न विद्यालयहरुले क्वारेन्टाइन स्थापनाका लागि नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।

नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच गर्दै आएको छ। 

पश्चिमी सीमा नाकामा हाल सम्म ६० हजार बढीको स्वास्थ्य जाँच गरिएको छ। सरकारले देशभर लकडाउन घोषणा गरेको अघिल्लो दिन स्थानीय प्रशासनले कञ्चनपुरमा लकडाउन गरेको थियो। लकडाउन गरिएपछि सीमा नाकाबाट आवागमन बन्द गरिएको छ। 

प्रकाशित मिति: : 2020-03-29 06:25:13

प्रतिकृया दिनुहोस्