कोरोनाबाट बच्न सतर्क रहनुपर्छ : मुख्यमन्त्री राई

रासस

विराटनगर

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताएका छन्। 

सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उनले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी दिए।

मुख्यमन्त्री राईले यस भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिरहेको अवस्थामा यसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश सरकारले २३ बुँदे कार्य योजना बनाएर अघि बढिरहेको र यही कार्य योजनाको आधारमा प्रदेशमा क्वारेन्टाइन, आइसोलेसन निर्माण भएको जानकारी दिए।

लकडाउनको समयमा मर्कामा परेका गरीब एवं विपन्न परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले रु १० करोडको कोष स्थापना गरेको र यसमा रकम वृद्धि भइरहेको जानकारी दिए। 

उनले कारोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता वितरण हुने बताउँदै मुख्यमन्त्रीको कार्यालयमा कोरोना डेस्क राखिने र यसबाट प्रवाह हुने सूचना र जानकारीमा एकरुपता ल्याउने तयारी भइरहेको बताए। 

उनले प्रोत्साहन भत्ताका लागिका प्रदेश सरकारले रु एक करोड ६८ लाख बजेट निकास गरिसकेको छ भने। 

सङ्घीय सरकारले पठाएको कोरोना उपचारमा आवश्यक पर्ने एक हजार थान पिपिइ (व्यक्ति सुरक्षा कवच) आजै प्राप्त भएको भन्दै मुख्यमन्त्री राईले जानकारी दिए। 

यस्तो विषम समयमा कालोबजारी गर्ने सोच महापराधी सोच हो भन्दै मुख्यमन्त्री राईले प्रदेशमा उपभोग्य सामग्रीको अभाव हुन नदिन विभिन्न समिति बनाएको जानकारी दिए। 

मुख्यमन्त्री राईले जीवन विकास समाजबाट पाँच हजार परिवारलाई रु ५० लाख बराबरको राहत सामग्री प्राप्त भएको जानकारी दिए। 

सो अवसरमा सिटिजन बैंक प्रदेश कार्यालयका प्रमुख प्रदीप सेढाइँले रु सात लाखको चेक कोषमा जम्मा गरिदिन मुख्यमन्त्री राईलाई हस्तान्तरण गरे।

प्रकाशित मिति: : 2020-03-30 21:05:20

प्रतिकृया दिनुहोस्