नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज अष्ट्रेलिया उड्दै

चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै  अष्ट्रेलिया को शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।

निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै  अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।वाइड बडी जहाजले  अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए ।

उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरी क्वालालम्पुर हुँदै  बिहीबार राति नेपालमा अवतरण गर्ने तालीका रहेको जानकारी दिए ।

वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ ।

चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो ।

हाल दुई वाइड बडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ । रासस

प्रकाशित मिति: : 2020-04-01 15:32:01

प्रतिकृया दिनुहोस्