म्याग्दीमा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात 

रासस

म्याग्दी 

हिमाली जिल्ला म्याग्दीमा दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको छ। विभिन्न उद्योगका आधिकारिक बिक्रेतासँग मौज्दात रहेको खाद्यान्नले जिल्लावासीलाई दुई महिना पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ। 

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको अवधिमा पनि ग्रामीण क्षेत्रमा खाद्यान्न आपूर्ति भैरहेको सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए। 

'डिलरहरु कहाँ स्टक सामानले करिब दुई महिना पुग्छ,' उनले भने,  'उपभोक्ताले पनि डेढ÷दुई महिनालाई पुग्ने खाद्यान्न जोहो गरेका पाइन्छ। गाउँमा धान, कोदो छ। गहुँ, जौ भित्र्याउने बेला भएकाले भोकमरीको अवस्था हुँदैन।'

बेनीका चामल डिलरसँग १० हजार २९३ बोरा, नुन ५४३ बोरा, खानेतेल एक हजार ६१७ कार्टुन, २८८ बोरा दाल, ५२५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, तीस हजार लिटर डिजेल र तीन हजार लिटर मट्टितेल मौज्दात रहेको सङ्घका महासचिव लीलाराम गौतमले बताए।

विपन्नलाई वितरण गर्न रघुगंगा गाउँपालिकाले २५० बोरा, अन्नपूर्णले २००, धवलागिरीले २०० र मालिकाले १५० बोरा चामल खरीद गरेर राखेको जनाएका छन्। खाद्यान्न पसल र ढुवानीमा लकडाउनको प्रभाव नपरेपनि उद्योगमा कर्मचारीले कोरोनाको त्रासले काम गर्न छाडेकाले उत्पादनसँगै बजारमा आपूर्ति भने घटेको छ। 

'म्याग्दीमा नुन र तेलको मौज्दात कम देखिएकाले सम्बन्धित डिलरमार्फत आपूर्तिका लागि माग गरेका छौँ,' प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, 'ग्रामिण क्षेत्रमा ग्याँस प्रयोगलाई निरुत्साहित र राहत वितरणमा सम्भव भएसम्म स्थानीय खाद्यान्नलाई प्राथमिकता दिने नीति लिएका छौँ।' बेनीमा बुधबार म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा जनप्रतिनिधि, प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र व्यापारीबीच जिल्लामा खाद्यान्न मौज्दात र आपूर्तिका  सम्बन्धमा छलफल भएको थियो।  

सहभागीले बजारमा नुन, तेल र ग्यासको अभाव हुनुका साथै खाद्यान्न पदार्थको मूल्यसमेत बढेको पाइएकाले त्यसलाई नियमन गर्नुपर्ने बताएका थिए। डिलरहरुले तेल र ग्याँस उद्योगका मजदुरले कोरोनाको त्रासका कारण काम नगरेकाले उत्पादन नभएर आयात हुन नसकेको बताएका छन्। गहुँ, उवालगायत हिउँदे बालीमा माथिल्लो क्षेत्रमा हिमपात र असिनाले असर गरेकाले उत्पादन घट्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: : 2020-04-02 16:47:37

प्रतिकृया दिनुहोस्