संस्मरण

पहाडकी रानी 'दार्जीलिङ'मा ती मधुमय दिनहरू, कहिले फर्केलान्

विक्रमवीर थापा

शिलाेङ, भारत
Photo: Flickr
Photo: Flickr

सामाजिक सञ्जालमा देख्ने गर्छु- विमल गुरुङले पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस प्रमुख ममता दिदीको पछ्यौरी समाएपछि बर्खे–झरीमा उम्रेकाे च्याउ उम्रेझैँ दार्जीलिङमा 'गोर्खा नेताहरू' जन्मिए।

गोर्खाल्याण्डकाे हितमा काम गरे राम्रै हो। तर गोर्खा नेताहरूले एकअर्कामा आरोप-प्रत्यारोप गरेका कुरा सञ्चारमाध्यममा पढ्दा मन दुख्ने गर्छ। कारण मेरो पनि 'गोर्खे मन' हाे। गोर्खे मन थियो। र छ नै। उपन्यास 'टिस्टादेखि सतलजसम्म' लेख्न सकेँ। गोर्खे मन नभएको भए कहाँ लेखिन्थ्यो र?

दार्जीलिङ दुईपल्ट पुगेँ। एकपल्ट सन् १९७४ मा उपन्यास 'विगतको परिवेशभित्र' छपाउनका लागि प्रकाशकको खोजीमा। दोस्रोपल्ट सन् १९९९ताका। पुग्नुकाे कारण चाहिँ 'गोर्खा दुःख निवारक सम्मेलन' ले वर्षेनी दार्जीलिङका लागि संगीत प्रतियोगिता कार्यक्रममा निम्तो पाए आमन्त्रित अतिथिको रूपमा।

सन् १९९९ मा पुगेको बेला सुवास घिसिङकाे राज थियो। दार्जीलिङ शान्त थिएन। ६ इन्चको जगजगी थियो।

सन् १९७४ मा भने दार्जीलिङ शान्त थियो। सुन्दर थियो। सबै दाजुभाइ अनि दिदीबहिनीहरूबीच परस्परमा मधुर मिलाप थियो। यद्यपि त्यसबेला दार्जीलिङमा 'गोर्खा' नामको हुरी चलेको थिएन। सबै 'नेपाली' थिए र कवि अगमसिंह गिरीले लेखे- 'नौ लाखे तारा उदाए..., न सम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको'...।

त्यसबेला दार्जीलिङका दिदीबहिनी र दाजुभाइहरूले मप्रति कल्पनातीत सौहार्द बाढे। यसबारे मैले आफ्नो आत्मजीवनी भाग-१ 'कारगिल युद्ध-१९९९'मा राम्ररी वर्णन गरिदिएको छु।

तर हिजोको दार्जीलिङ अशान्त छ। र पनि दार्जीलिङका आजका जनसाधारण दिदीबहिनी अनि दाजुभाइहरू‌ अत्यधिक सोझा,सरल छन्।मसँग मोबाइल फोनमा सौहार्दपूर्ण कुरा हुन्छ उनीहरूको यसैकारण साहित्यकार‌ एवं अकादेमी पुरस्कारले सम्मानित आर.पी. लामाबारे‌ लेखिएको मेरो लेख अहिले दार्जीलिङबाट छापिँदैछ।

दार्जीलिङलाई बिगारेका छन्, झरी च्याउझैँ उम्रेका गोर्खे नेताहरूले। यिनीहरूको पछि लाग्ने चम्चेहरूले।

यदि दार्जीलिङका साधारण गोर्खा जनताहरूले मप्रति सौहार्दपूर्ण सद्भभावना नराखेका भए कवि अगमसिंह गिरीको‌ तैलचित्र चित्रांकन गर्ने सुअवसर मैले‌ पाउने थिइनँ। यो तैलचित्र 'दुःख निवारक सम्मेलन', दार्जीलिङमा सजिएको छ। यसैगरी 'नेपाली भाषा प्राप्ति'काे आन्दोलनमा शहीद हुने कृष्ण सुब्बाको तैलचित्र चित्रांकन गर्ने सुअवसर पनि पाउने थिइनँ। यो तैलचित्र सिक्किमवासी साहित्यकार कपीलमणि अधिकारीको घरमा सुशोभित छ।

यसकारण दार्जीलिङवासीमा विक्रमले हृदयको अन्तर कुनाबाट नमस्कार एवं शुभकामना चढाउँदछ। दुःख यसैमा छ- 'दार्जीलिङ पहाडकी रानीमा ती मधुमय दिनहरू कहिले फर्केलान्...।

प्रकाशित मिति: : 2021-10-17 07:57:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ