मोरङको सलकपुरमा प्रहरी र शिकारीबीच दोहोरी गोली हानाहान

मोरङको सलकपुरमा शुक्रबार दिउँसो शिकारी र वनरक्षकको दोहोरो गोली हानाहान भएको छ। दुई तर्फी गोली चले पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

लकडाउनको बेलामा मोरङ सुन्दरहरैचा नगरपालिकामा पर्ने सलकपुर सामुदायिक वनमा शिकारीले ९ राउण्ड र सुरक्षाकर्मीले ८ राउण्ड गोली प्रहार गरेका हुन्।

भरूवा बन्दुकको बारूद सकिएपछि भागेका ३ शिकारीलाई २ थान बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

दोहोरो गोली हानाहानमा सहभागी एक सुरक्षाकर्मीका अनुसार, वन रक्षक र सशस्त्र प्रहरीको संयुक्त समूहको घेराबन्दीमा परेपछि शिकारीले गोली चलाएका थिए ।

शिकारीले भरुवा बन्दुकबाट ९ राउण्ड गोली चलाउँदा वन रक्षकले थ्रीनट थ्री राइफलबाट ७ राउण्ड गोली चलाएका थिए ।

वन रक्षकको मद्दतमा सशस्त्र प्रहरीले एसएलआरबाट एक राउण्ड गोली चलाएको थियो ।

सशस्त्र प्रहरीका ३ नम्बर गण मोरङका एसपी नेत्रबहादुर कार्कीले बन्दुकको बारुद सकिएपछि भागेका शिकारीहरु केराबारी ८ का डम्बर जोगी (३५), विशाल कार्की (३७) र किरण धिमाल (२७) लाई पक्राउ गरिएको बताए । उनीहरुले फालेर भागेको २ थान बन्दुक पनि नियन्त्रणमा लिइएको छ ।

सुरक्षाकर्मीले भरुवा बन्दुकमा लगाउने बारुद पनि नियन्त्रणमा लिएको छ। कोरोना नियन्त्रणमा सुरक्षाकर्मी केन्द्रित रहेको बेला वनमा शिकारीको चलखेल बढेको सूचना आएकाले खोजी गर्ने क्रममा हतियारधारी शिकारीसँग जम्काभेट भएको एसपी कार्कीले बताए ।

 “ठूलो समूहमा वनभित्र रहेका हतियारधारी शिकारीले गोली हान्न थालेपछि हामी डिफेन्स लिएर बसेका थियौं”, दोहोरो गोली हानाहानमा सहभागी एक सुरक्षाकर्मीले भने, “१२ जनाजति थिए, एक जनाको हातमा एउटा बन्दुक थियो ।” भरुवा बन्दुक एक पटक पड्किएपछि पुनः बारुद भर्नु पर्ने भएकाले उनीहरु भागेका थिए।

सशस्त्र प्रहरीको बराह बाहिनी सुनसरीका डीआईजी नगेन्द्रबहादुर थापाले वनमा शिकारीको चलखेल बढेको सूचना पाएपछि सलकपुर बेस क्याम्पबाट सुरक्षाकर्मी परिचालन गरेर सफलता पाएको बताए । भागेका शिकारी र तिनका हतियारका बारेमा वन कार्यालयबाट अनुसन्धान भइरहेको  डिभिजन वन कार्यालय मोरङका प्रमुख  विशाल घिमिरेले बताए।

प्रकाशित मिति: : 2020-04-03 21:50:56

प्रतिकृया दिनुहोस्