भारतीय सीमामा शरणार्थी बनेका १ हजार ६ नेपालीमा कोरोनाको संक्रमण भेटिएन

श्याम भट्ट

कञ्चनपुर

विगत १० दिनदेखि सुदूरपश्चिमको अन्तिम नाका भारतको धार्चुलामा अलपत्र परेका एक हजार ६ नेपालीमा कोरोना भाइरसको कुनै संक्रमण नभेटिएको भारतीय अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्। 

भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका सुदूर र मध्यपश्चिमका गरिब नेपालीहरु कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले २१ दिनको ‘लकडाउन’ घोषणा गरेपछि नेपाल फर्किएका थिए। 

भारतको विभिन्न शहरबाट दुई तीन दिन लामो पैदल यात्राबाट फर्किएका नेपालीलाई दार्चुलास्थित नेपाली नाकामा सरकारले प्रवेशमा रोक लगाएको थियो। उनीहरू गत शनिबारदेखि भारतीय नाका धार्चुलामा बसेर नेपाली नाका खुल्ने पर्खाइमा छन्। 

नेपालले आफ्नो जनतालाई देशभित्र प्रवेश गर्न नदिएपछि भारतीय सरकारले सीमामा जम्मा भएका नेपालीहरूलाई पाँच ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरेर राखेको छ भने उनीहरूको स्वाब टेस्ट गर्दा संक्रमण नदेखिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको भारतीय पदाधिकारीले जानकारी दिए। 

‘हामीले सबै नेपालीको स्वाब टेस्ट गर्दा कोरोना भाइरस संक्रमणको नकरात्मक रिपोर्ट आएको छ,’ एक उच्च अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए। उनले नेपालीहरू नेपाल फर्किने कुरा भारतीय सरकारको भन्दा पनि नेपाल सरकारको हातमा रहेको बताए। 
 

प्रकाशित मिति: : 2020-04-05 14:06:23

प्रतिकृया दिनुहोस्