अमेरिकी न्याय विभागकै दस्तावेज भनिरहेको छ- यो अफबाह हो !

अहिले अमेरिकामा चिनियाँ विरोधी हावा चलेको छ।अमेरिकी रेड नेकहरू त सिधै कोरोनालाई चिनिया भाइरस भन्दै नश्लीय चिन्तन फैलाइरहेका छन् नै, चीन छिमेकी भएको नेपालबाट आएको नेपाली डायस्पोरामा पनि यो चिन्तन भएका मानिसको कमी देखिएको छैन। 

भारतको विरोध गर्दा कम्युनिष्ट र चीनको विरोध गर्दा कांग्रेस हुने समयमा जन्मेका केही नेपालीमा अमेरिका आइपुग्दा पनि त्यो ह्याङओभर बाँकि नै छ। खासगरी कांग्रेस स्कूलिङबाट आएका नेपालीमा अहिले पनि कांग्रेस हुन चीन विरोधी हुनैपर्छ भन्ने सोचाइको जरा उख्लिसकेको छैन।

अमेरिका आइपुग्दा पनि यो वा त्यो नाममा त्यही जरा समातेकाहरू यतिबेला एउटा अर्कै प्रसंगको भिडियोलाई कोरोनासँग जोडेर भाइरल बनाइरहेका छन्। भाइरल बनाउनेहरू भनिरहेका छन्, 'चीनलाई कोरोना भाइरस बेचेका कारण हार्भर्ड विश्वविद्यालयका अमेरिकी प्राध्यापक चार्ल्स लिबर पक्राउ परेका छन्।'

तर, अमेरिकी जस्टिज डिपार्टमेन्टको सूचनाले त्यसको खण्डन गरेको छ, जनवरी २८ मा दुई चिनिया नागरिकसहित पक्राउ परेका प्राध्यापक लिवर चीनबाट प्राप्त रकमबारे संघीय अधिकारीलाई झुक्याएको र झुठो बोलेको आरोपमा पक्राउ परेका हुन्।'

 अमेरिकी नयाय विभागको सूचना  मा प्राध्यापक लिवरले चीनको रक्षा मन्त्रालय र नेशनल इन्स्टिच्युट अफ हेल्थबाट मोटो रकम प्राप्त गरेर पनि अमेरिकी सरकारलाई जानकारी दिएका थिएनन् । उनले प्रत्येक महिना ५० हजार अमेरिकी डलर र खान बस्नका लागि एकपटकमा एक लाख ५८ हजार डलर प्राप्त गरेका थिए। यसैगरी युहान युनिभर्सिटी अफ टेक्नोलोजीमा रिसर्च ल्याब स्थापनाका लागि थप १५ लाख अमेरिकी डलर पनि लिएका थिए।

यतिका रकम लिएर पनि सरकारलाई जानकारी नदिएका उनी दुई चिनिया सहयोगीसहित पक्राउ परेका थिए। तर, अहिले त्यो प्रकरणलाई कोरोना कन्स्पिरेसी थ्यौरी बनाएर उनलाई पक्राउ गर्दाको भिडियोसँगै भाइरल बनाइएको छ। 

के चिनिया मुलको हुनु उनीहरूको अपराध हो ?  के उनीहरूले नै कोरोना भाइरस बनाएर आफू बसेको ठाउँमै सल्काएका हुन् ?  त्यो त पक्कै हैन । तर, पनि हामी नेपाली भोलि हामीलाई नै पुर्ने खाडल खनिरहेका छन्। आज चिनियामाथि घृणा फैलाउनेले भोलि नेपालीमाथि घृणा नफैलाउलान् भन्ने के ग्यारेन्टी छ ?

अमेरिकामा चीन विरोधी हावा चलेको यतिबेला चिनियामूलकै भएका कारण कति चिनियाहरू प्रताडित छन्। उनीहरूमाथि ठाउँठाउँमा दुर्व्यवहार भएका समाचार आइरहेका छन्। उनीहरूका रेष्टुरेन्ट, व्यवसाय धेरै ठाउँमा बन्द छन्। 

के चिनिया मुलको हुनु उनीहरूको अपराध हो ?  के उनीहरूले नै कोरोना भाइरस बनाएर आफू बसेको ठाउँमै सल्काएका हुन् ?  त्यो त पक्कै हैन । तर, पनि हामी नेपाली भोलि हामीलाई नै पुर्ने खाडल खनिरहेका छन्। आज चिनियामाथि घृणा फैलाउनेले भोलि नेपालीमाथि घृणा नफैलाउलान् भन्ने के ग्यारेन्टी छ ?

अमेरिकामा नेपाली कांग्रेस पनि छैन र अब त्यो हुनका लागि चीनलाई सराप्नुपर्ने युग पनि छैन। त्यसैले यस खालका अफवाहहरू भाइरल बनाउन आवश्यक पनि छैन। 

अहिलेलाई कोरोना संसारकै शत्रु हो, त्यसैले सबै मिलेर यसलाई पराजीत गर्नु छ। त्यसपछि यो जैविक हो कि रासायनिक हो ? चिनिया हो कि अरू नै, त्यसको पोस्टमर्टम होला नै। अहिलेका लागि भने कुनै जात, वर्ण वा ओरिजिन भएकै आधारमा कोरोना कन्सिरेसी थ्यौरीको पछि नलागौं। वल्ला घरको नरे पल्ला घरमा सर्न कति पनि समय लाग्दैन। यसै पनि अमेरिकामा नेपालीलाई एसियन भनिन्छ, त्यसो भन्दा त चीनियासँगै हामी पनि एउटै डालोमा पर्ने हौं। 

 

अमेरिकी न्याय विभागको दस्तावेजका लागि यहाँ क्लिक गर्नुहोस् ... तथ्य आफैं बोल्छ 
https://www.justice.gov/opa/pr/harvard-university-professor-and-two-chinese-nationals-charged-three-separate-china-related

प्रकाशित मिति: : 2020-04-07 04:14:49

प्रतिकृया दिनुहोस्