कोरोना सर्ने डरले जेनेभा अस्पतालका डाक्टरलाई घरबेटीले डेराबाट निकाले

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

स्विट्जरल्याण्डको जेनेभामा अवस्थित युनिभर्सिटी अस्पतालमा कार्यरत एक डाक्टरलाई उनकाे घरबेटीले निकालेपछि खैलाबैला मच्चिएकाे छ। 

स्विट्जरल्याण्डकाे उच्च सुविधासम्पन्न अस्पतालमा काम गर्ने जर्मनभाषी ती युवा डाक्टर कोरोनाका रोगीको उपचारमा दिनरात खटिएका छन्। उनी बस्ने घरका बूढा घरबेटीसँग कोठा आमनेसामने थियो। बूढा घरबेटीले कोरोना सर्ने डरले आत्तिएर डाक्टरलाई तत्काल कोठा छोड्न भनेकाे बताइएकाे छ। 

याे कुरा डाक्टरले अस्पताल प्रशासनलाई बताएपछि अस्पतालले डाक्टरलाई कोठादिन इच्छुक घरबेटीकाे खाेजी गरिरहेकाे छ। यसका लागि अस्पतालले आफ्नाे वेभसाइटमै सूचना प्रकाशित गरेको छ। हाल ती डाक्टर साथीको कोठामा शरण लिएर बसेका छन्। अस्पताल प्रशासनले स्थानीय सरकार र जनताको प्रतिकृया बुझ्न वेभसाइटमा राखिएको भनी प्रतिकृया आइरहेका छन्। स्थानीय अखबारले जनाएअनुसार महामारीकाे याे अवस्थामा दिनरात खटिएकाे डाक्टरलाई आफ्नाे घरमा डेरा दिन इच्छुक घरबेटीले फोन गरिरहेकाे बताएकाे छ।  

जेनेभाको स्थानीय सरकारले पनि स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको भन्दै आपतकालिन बैठक डाकेको छ। डाक्टरले छिटै आफ्नो बसोबासको प्रबन्ध नभए घर फर्कने कुरा प्रशासनलाई बताएका छन्। जेनेभाको अस्पतालमा कोरोना संक्रमित बिरामी खचाखच भरिएका छन्। जेनेभामा अहिलेसम्म ८३ जनाको निधन भइसकेकाे छ। 

प्रकाशित मिति: : 2020-04-07 05:57:23

प्रतिकृया दिनुहोस्