डब्ल्यूएचओका महानिर्देशक भड्किए फ्रान्सेली डाक्टरसँग, फुटबल स्टार इटाेले भने–‘हत्यारा’

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अदानोमले दुई फ्रान्सेली डाक्टरको रंगभेदी भनाईप्रति गम्भीर आपत्ति प्रकट गर्दै औपनिवेशिक चिन्तनको कडा शब्दमा निन्दा गरेका छन्।

संगठनले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर टेड्रोसले दुई वरिष्ठ फ्रान्सेली डाक्टरले कोरोना भाइरसको औषधीको प्रयोग अफ्रिकी देशमा गर्न सकिने भनाइप्रति आपत्ति जनाएका हुन्। सम्मेलनमा आक्रोशित हुँदै उनले भने,‘अफ्रिका कुनै भ्याक्सिनको परीक्षण गर्ने थलो होइन। अफ्रिकन मानव रुप धारण गरेका ‘गिनीपिग’ पनि होइनन्।’

फ्रान्सेली टिभी च्यानल एलसिइकोमा कोरोना सम्बन्धि डाक्टरसँग भएको बहसमा इनसेर्म हेल्थ रिसर्च ग्रुपका प्रमुख कामिले लोच र कोसिन अस्पताल फ्रान्सका इन्टेन्सिभ केयर यूनिटका प्रमुख जँ पाउल मिराले पर्याप्त मात्रामा मास्क, औषधी र उपचारका अन्य विकल्प नभएको ठाउँमा कोरोना भाइरसको नयाँ औषधी प्रयोग गर्न सकिने बताएका थिए। 

उनीहरुको दावी थियो–धेरैले थाहा नपाइकन औषधीहरु वेश्यावृत्तिमा लागेका व्यक्तिमा गरिन्छ। जो आफ्नो रक्षा गर्न सक्दैनन्। उनीहरुमाथि औषधीको प्रयोग गर्नु कुन अर्थमा नराम्रो भयो?

डाक्टरहरुको टीभी बहस सार्वजानिक भएपछि चर्चित फुटबल खेलाडी डिडियर ड्रोग्बा, सामुयल इटोले कडा शब्दमा निन्दा गरेका छन्। इटोले त उनीहरुलाई हत्याराकाे संज्ञा दिएका छन्। अफ्रिकाका धेरै मुलुकमा फ्रान्सले वर्षौँ शासन गरेको इतिहास छ। अहिले पनि ती देशमा फ्रेन्च भाषा बोलिन्छ।

प्रकाशित मिति: : 2020-04-07 08:18:38

प्रतिकृया दिनुहोस्