सिमावर्ती क्षेत्रकाे १७ स्थानमा ‘अब्जर्भेसन पोस्ट’ स्थापना

सरकारले दोस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको हो।

लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा लुकिछिपि नेपालतर्फ नेपालीहरु आउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सिमामा सशस्त्र प्रहरी थप गरिएको हो। 

चैत्र ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आवतजावत रोक्न थप फौज परिचालन गरिएको  मोरङका एसपी नेत्रबहादुर कार्कीले बताए। 

‘भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न दिएको छैन,’उनले भने,‘ सम््भावित जोखिमलाई मध्यनजर गर्दै सीमामा कडाइ गरिएको छ।’

सरकारले कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाएको र अहिले १ सय ५० जना सशस्त्र प्रहरीलाई नेपाल–भारत सीमामा खटाइएको हो।   

खटाइएका थप जनशक्ति  पहाडी जिल्ला र मोरङ र सुनसरीका गण र बेशक्यापबाट ल्याइएको कार्कीले बताए। 

भारतीय सीमा जोडिएकोे  बिराटनगरको केशलियादेखि मोरङको रतुवामाई नगरपालिकाको बल्डङ्गासम्म ३६ स्थानमा अस्थायी रुपमा  बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ। अधिकांश बीओपीमा २५ जनाले मात्रै सुरक्षा दिँदै आएकोमा अहिले सिमा सुरक्षको लागि जनशक्ति थप गरिएको छ। 

थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन मोरङको धनपालथान अन्तर्गत तरिगमा, डुमरीया, खैरवना, पोखरी डिल,  हनुमान मन्दिर, भलुवा नयाँ टोल, आँपगाछि,मायाँगञ्ज,गरि ७ स्थान र रंगेली नगरपालिका मा ३ स्थान र रतुवामाई र सुनवर्सि नाकामा सिक्टि बोडर,सोनापुर,बल्डङ्गा,कुटुमगञ्ज,डोरिया,थालगाछि गरि १६ स्थानमा २४ घन्टा अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको कार्कीले बताए।  

विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको  हो।  भारतले समेत सिमा सुरक्षामा बाक्लो उपस्थितिमा एसएसपीहरु समेत खटाएर आवत जावतमा थप कडाई गरेको छ।

 

प्रकाशित मिति: : 2020-04-07 13:49:20

प्रतिकृया दिनुहोस्