सरोज खनालले अमेरिका पुगेपछि भने 'जे पर्ला त्यही टर्ला' !

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका
'...जस्ले जे भनेपनी यो समय परिवारसंग बिताउन उचित सम्झिए !! ' तस्विर सौजन्य: सरोज खनालको फेसबुक ।

नेपालका भेट्रन अभिनेता सरोज खनालले अमेरिका आइपुगेर 'जे पर्ला तेही टर्ला' भनेका छन्। उनले श्रीमती सूर्यमाला शर्मा र दुई नातिसहितको पारिवारिक तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेका छन्-  'सर्वे भवन्तु सुखिन: सर्वे संतु निरामय: ...जस्ले जे भनेपनी यो समय परिवारसंग बिताउन उचित सम्झिए !! जे पर्ला तेही टर्ला।'

लामो समय अमेरिका बसेर आफ्नो जन्मभूमि नेपाल फर्केका खनाल काठमाडोैंस्थित अमेरिकी दूताबासले आफ्ना नागरिकलाई अमेरिका फर्काउन व्यवस्था गरेको चार्टर्ड विमानबाट अमेरिका फर्केका थिए। 

उनी नेपाल फर्कने बेलामा अमेरिका सधैंका लागि त्यागेर फर्केको भनेकाले धेरैले उनले नागरिकता नै त्यागेर फर्केको भन्ने अर्थ लगाएका थिए। तर, उनी अमेरिकी नागरिकलाई देश फर्काउन तयार बनाएको विमानमा देखिएपछि धेरै अचम्ममा परेका थिए। त्यही अर्थमा उनी समाचार बनेका थिए। 

समाचारको एक बहुचर्चित परिभाषाले भन्छ,' कुकुरले मानिसलाई टोक्यो भने त्यो समाचार बन्दैन तर मानिसले कुकुरलाई टोक्यो भने समाचार बन्छ।' यसको अर्थ सहज छ, जे स्वभाविक हुन्छ, त्यो समाचार बन्दैन; जे अस्वभाविक हुन्छ, त्यो समाचार बन्छ। 

सरोज खनाल जहाँका नागरिक भए पनि नेपालका एक उम्दा कलाकार हुन्। उनले नेपाली चलचित्रकर्मलाई समृद्ध बनाउन अहम् योगदान गरेका छन्। उनको त्यो योगदान नेपालले सम्झिरहने छ। 

संसारभरका नेपाली नेपाल फर्कन खोजिरहेको बेला सरोज भने नेपालबाट अमेरिका फर्कदै थिए। त्यसैले यो अलि अस्वभाविक भएर समाचार बनेको थियो। सेलिब्रेटी भएपछि कहिले गसिप बन्छ, कहिले समाचार । उनीसँगै अरू पनि नेपाली मुलका अमेरिकी फर्किएका थिए, तर उनीहरू समाचार बनेनन्। कारण, उनीहरू सेलिब्रेटी थिएनन् वा उनीहरूसँग न्युज वर्दिनेस थिएन। 

सरोजको समाचारले मिश्रित प्रतिक्रिया पायो। केहीले उनको पक्षमा समथर्न जनाए भने केहीले उनले यथार्थ लुकाएकोमा चित्त दुखाए। उनीहरूको चित्त दुखाइ उनी अमेरिकी भएकोमा थिएन, अमेरिकी भएर पनि नभएको भनेकोमा थियो। 

शायद सरोजलाई त्यस्ताखाले प्रतिक्रिया रूचिकर लागेन होला। त्यसपछि उनले फेसबुक स्टाटसमै लेखे-  'जस्ले जे भनेपनी यो समय परिवारसंग बिताउन उचित सम्झिए'। उनको यो भनाइसँग असहमत हुने ठाउँ नै कहाँ थियो र ? साह्रो गाह्रो परेको बेला फरकने भनेको आफू जुन देशको हो र आफन्त जहाँ छन् त्यही त हो। 

नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्कन नदिए पनि अमेरिकाले ९० देशबाट आफ्ना नागरिक विमान चार्टर्ड गरेर फर्काएको छ। बुधबारको कोरोना भाइरस ह्वाइट हाउस ब्रिफिङमा अमेरिकी विदेश मन्त्री माइक पम्पेओले नेपालको नामै लिएर आफ्ना नागरिक फिर्ता ल्याएको बताएका थिए।

हुन त सरोजले यस प्रकरणमा नागरिकताको प्रश्नलाई सम्बोधन गरेका छैनन्। तर, अमेरिकाले आफ्ना नागरिक फिर्ता ल्याएको भनेकाले उनी पनि त्यही भएर ल्याइएका हुन् भने अनुमान भएको हो। 

उनी जहाँका नागरिक भए पनि नेपालका एक उम्दा कलाकार हुन्। उनले नेपाली चलचित्रकर्मलाई समृद्ध बनाउन अहम् योगदान गरेका छन्। उनको त्यो योगदान नेपालले सम्झिरहने छ। 

 

प्रकाशित मिति: : 2020-04-09 09:41:38

प्रतिकृया दिनुहोस्