तीन भारतीयमा काेराेना भेटेपछि नारायणी अस्पतालको ओपिडी सेवा बन्द

नारायणी अस्पताल वीरगञ्जमा आकस्मिक बाहेकका उपचार सेवा बन्द भएको छ। आइसोलेसनमा बस्दै आएका तीन भारतीय नागरिक शुक्रबार कोरोना संक्रमित भएकाे पुष्टि भएपछि ओपिडी सेवा बन्द गराएको नारायणी अस्पताल प्रशासनले जनाएको छ। 

शनिबारदेखि नै अर्को व्यवस्था नहुन्जेलसम्म आकस्मिकबाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। अस्पताल बन्द भएपछि बारा, पर्साका बिरामीहरु बिचल्लीमा परेका छन्। 

लकडाउन सुरु भएसँगै वीरगञ्ज निजी क्लिनिक र ल्याब बन्द छन्। संचालनमा रहेका निजी अस्पतालले पनि ज्वरो ,रुघाखोकी, पेट,छाती दुख्ने जस्ता सामान रोगका बिरामीको उपचार नगरि फर्काइ दिने गरेका छन्। 

अस्पतालको आकस्मिक बैठकले कोरोना संक्रमित बिरामीबाट अन्य बिरामीमा संक्रमण फैलिन सक्ने आशंका गरिएकाे छ। अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरेपछि अन्य रोगका बिरामीहरुसमेत प्रभावित भएका छन्। 

नारायणी अस्पतालमा वारा, पर्सा, रौतहट जिल्लाका दैनिक ५ देखि ६ सय बिरामीहरु उपचारका लागि आउने गरेका छन्।  यता अस्पतालमा कोरोना संक्रमित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा संलग्न चिकित्सकलाई छुट्टै बस्न होटलको व्यवस्था मिलाइएको छ। 

वीरगञ्जको आदर्शनगरस्थित होटल कन्ट्रीईनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बस्ने व्यवस्था मिलाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए।

कोरोना संक्रमणको उपचारका लागि वीरगञ्जमा तीन÷तीन जना चिकित्सक, नर्ससहितका तीनवटा टीम कार्यरत छन्।
 

प्रकाशित मिति: : 2020-04-12 20:52:03

प्रतिकृया दिनुहोस्