कैलालीमा एक महिलामा भेटियाे कोरोना, संक्रमितकाे संख्या १३ पुग्याे

कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।

उनी वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी थिइन्। वीरगञ्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते प्रवेश गरेका थिए। भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।

काठमाडौंबाट आएको टोलीले २५ गते  क्वारेन्टाइनमा रहेका ९९ जनाको स्वाब संकलन गरेकाे थियो। जसमध्ये ९८ जनाको नेगेटिभ आएकाे छ।  यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो। 

सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन। हिजाेमात्रै वीरगञ्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थयाे।  यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने तीनजना काठमाडौं, दुईजना बागलुङ र चार जना धनगढीमा उपचारर्थ छन्। 

 

प्रकाशित मिति: : 2020-04-13 11:12:22

प्रतिकृया दिनुहोस्