नयाँ वर्षमा प्रकृतिकाे उपहार, डडेल्धुरामा पहिलाे पल्ट पाटेबाघ भेटियाे

तस्वीर साैजन्य: डिभिजनल वन कार्यालय।

कोरोना संत्रासको यो नयाँ वर्षको शुभकामना २४ सय ९७ मीटर उचाइँस्थित डडेल्धुराको महाभारत पर्वतबाट आएको छ। प्रकृतिका तर्फबाट उपहारका रुपमा मुलुकको जैविक बिविधता ईतिहासमा पहिलो पटक यहाँ आधिकारीक रुपमा पाटे बाघ भेटिएको छ। सामान्यतया तराई र भित्री मधेशतिर पाईने पाटेबाघ (रोयल बंगाल टाइगर) हिँउ पर्ने महाभारत पर्वतमा भेटिनु संरक्षणकर्मीका लागि आश्चर्य र खुशी दुबै विषय बनेको छ। सामान्यतया मुलुकका हरेक पहाडको यो उचाइँ विडालवंशीय चितुवा र चरी बाघको वासस्थान हो। 

उत्साहित हुँदै डडेल्धुराका डिभिजनल अधिकृत विष्णुप्रसाद आचार्यले बिएल नेपाली सेवासँग भने, ‘नेपालको वन इतिहासमा यो पहिलो दुर्लभ घटना हो। हामीले महाभारत पर्वतको भागेश्वर करिडरमा मन्दिर नजिकै २४ सय ९७ मिटर उचाइँमा राखिएको एउटा क्यामरामा पाटेबाघ कैद भएको छ।’

बाघले आफ्नो वासस्थान फैलाएको चर्चा पहिले देखिकै हो तर सरकारले गरेको अध्ययनमा क्यामरामा पहिलो पटक कैद भएको हो। सम्पूर्ण भू–भागको ७५ प्रतिशत क्षेत्र  वनले ढाकेको डडेल्धुरास्थित महाभारत पर्वत जिल्लाको लाईफलाईन पनि हो।

यो पर्वतमा विडालवंशीय लगायत अन्य वन्यजीवनको अध्ययन गर्न गत मार्च ६ देखि अप्रिल ६ सम्म एक महिनामा ३६ जोडी क्यामरा जडान गरिएका थिए। डिभिजनल वन कार्यालयलाई यस काममा प्राविधिक सहयोग विश्व वन्यजन्तु कोष र तराई भु परिधि कार्यक्रमले गरेका थिए।

यो क्यामरा ट्रयापमा पाटेबाघ लगायत चितुवा, रेड फक्स,लार्ज ईण्डियन सिभेट,घोरल, मृग प्रजाति र कयौं प्रजातिका चरा परेका छन्। अध्ययनल् महाभारत क्षेत्रमा पाइने वन्यजीवनको प्रचुरता र सघनतासमेत उजागर भएकाे आचार्य मान्छन्।

महाभारत पर्वतमा भेटिएका यी तस्विरको अहिले अनुसन्धान भइरहेको छ। भागेश्वर क्षेत्रमा भेटिएको बाघ रैथाने हो कि घुम्दै पुगेको हो यसबारे पनि अध्ययन भइरहेको छ। यो उचाइँमा बाघ पाइनु नै आफैंमा रोमाञ्चक विषय हो संरक्षणकर्मीका लागि।

अध्ययनले मुलुकभर वन्यजीवनमा अध्ययन गर्ने नयाँ बाटो समेत खोलेको छ। वन मंत्रालयका प्रवक्ता डा. सिन्धु मल्लका अनुसार डडेल्धुराको त्यो उचाइँमा पाटेबाघ भेटिनु सुखद कुरो हो। अध्ययनको परिणामले महाभारत वनक्षेत्रमा अझैं सघन अध्ययन हुनुपर्ने औल्याएको छ।

अर्को सघन अध्ययनपश्चात महाभारत बाघको नयाँ बासस्थान बनेकै हो भन्ने कुरालाई थप प्रमाणित गर्नेछ। ‘हामी नयाँ अध्ययनको तयारी गर्नेछौं’, उनले भने । डडेल्धुराको भित्री मधेश जोगबुढा क्षेत्रमा पछिल्लो बाघ गणनामा बाघको उपस्थिति देखिएको समेत उनले बताए। 

संकटमा रहेको पाटेबाघ मुलूक लगायत विश्वका १४ देशमा मात्रै पाईन्छ। सन २०२२ सम्म मुलुकमा बाघको संख्या दोब्बर पार्ने अभियानमा संरक्षणकर्मी लागेका छन्। सन २०१८ को गणनामा उनीहरुको संख्या मुलुकभर २ सय ३५ रहेको वन मन्त्रालयले सार्वजनिक गरेको थियो। छिमेकी भारत पनि आफ्ना बाघहरु दोब्बर पार्ने अभियानमा काम गर्दैछ। 

प्रकाशित मिति: : 2020-04-14 06:31:15

प्रतिकृया दिनुहोस्