नयाँ वर्ष २०८१ काे शुभकामना कविता:

‘सन्देश’

पुरानो गयो–वर्ष–आयो नवीन
बनोस् उर्वरा शस्यशाली जमीन 
दुबोले छऱ्यो चौरमा हेर पन्ना 
धरा मुस्कुराइन् पियारी प्रसन्ना। १ 

सबैतर्फ छाएर रङ्गी वसन्त
भयो स्वच्छ आकाश, धर्ती ज्वलन्त 
हट्यो तीक्ष्ण जाडो, घट्यो तीव्र गर्मी
हटोस् क्रूर दुर्भिक्ष अल्छी अधर्मी। २

नयाँ वर्षमा ठालु होऊन् दयालु
धनी दीनका माथि होऊन् कृपालु
रहोस् लोकका चित्तमा स्वच्छ भाव
नहोस् जीवमा रोग चिन्ता तनाव। ३

रहोस् शान्ति सद्भाव आस्था र भक्ति
बहोस् पाखुरामा दयायुक्त शक्ति
फलोस् कर्म, पाएर लामो सुभिक्ष
बलोस् कीर्ति–बाती, भरी अन्तरिक्ष। ४

रुखो चैत भाग्यो, मिठो मास आयो
सबैको हियोमा बडो हर्ष छायो
नयाँ वर्ष आयो, नयाँ क्यै त ल्यायो
भनी लोकमा एक आशा पलायो। ५

उता जून हाँसे उषा मुस्कुराइन्
यता कोयलीले मिठो गीत गाइन्
फुक्यो वायुले बाँसमा बाँसुरी र
गरे साथमा नृत्य जोडी मयूर। ६

चराले बजाएर सङ्गीत राम्रो
वनै गुञ्जिँदा चित्त उत्फुल्ल हाम्रो
पुरानो, पुरानै नयाँ ता नयैँ हो
नयाँ वर्षको शुभ्र सन्देश यै हो। ७

नयाँ पालुवामा चढ्यो रङ्ग नौलो
थुँगेफूल फुल्दा जगत् भो सुनौलो
लिनू जिन्दगीमा उज्यालो सुपन्थ
बनोस् जिन्दगी नै जियालो अनन्त। ८

उपर्युक्त शिक्षा चिरञ्जीव भिक्षा
बताई सुरक्षा प्रणाली, सदीच्छा
दिने, मूलमन्त्रै बुझौँ मित्र त्यै हो
नयाँ वर्षको मुख्य सन्देश यै हो। ९

फलून् खेतबारी फूलून् फूलबारी
नुहून् वृक्ष शाखा फली भार पारी
बनून् पुष्ट गाई र भैँसी दुधालु
गुणी स्वस्थकारी दही होस् लयालु। १०

मिलोस् घिउ चोखो मिलोस् दूध खाँटी
नबेचून् दुकानेहरू माल ढाँटी
सदाचारले बाँच्नु सद्धर्म त्यै हो
नयाँ वर्षको दिव्य सन्देश यै हो। ११

गरे बाह्रमासै सही कर्म हेर
नजाओस् बिना अर्थ बेला बितेर 
बसी हात बाँधी हुने छैन लौ क्यै 
नयाँ वर्षको सत्य सन्देश हो यै। १२

प्रकाशित मिति: : 2024-04-13 16:23:00

प्रतिकृया दिनुहोस्

    मेरो कविता सन्देशलाई य्थान दिएकोमा bl प्रति कृतज्ञ छु!

    • 4 दिन अगाडि
    • टेकनारायण रिमाल कौशिक

    मीठाे कविताका लागि शुभकामना साथ बधाई छ

    • 2 हप्ता अगाडि
    • mohanrah