नाफा चाहिन्न भन्दै एक व्यापारी जहाजभरि समान लिएर जेनेभा उत्रिए

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

पछिल्लाे समय स्वीट्जरल्याण्डकाे जेनेभाकाे पसल गयो, मास्क पाइन्न। हात सफा गर्ने स्यानिटाइजर सकिएको छ। अस्पतालमा पनि स्वास्थ्यकर्मीलाई लगाउने कपडा, सुरक्षित मास्क, चश्मा जस्ता सामाग्रीको खाँचो छ। यो सबै देखेर जेनेभामा घर जग्गाको ब्यापार गर्ने लेबनानी मूलका अब्दुल्लाह सातिला आफै विमान लिएर चीन गएका थिए। उनी अप्रिल १४ मा जेनेभाकाे विमानस्थलमा उत्रिँदा पत्रकारहरुकाे घुइँचाे थियाे। 

उनै व्यापारीले काेराेना भाइरसविरुद्ध लड्न एक जहाज सामाग्री चीनबाट स्वीट्जरल्याण्ड भित्र्याएका छन्। तर, त्याे बेच्न र नाफा कमाउनका लागि हाेइन। उनले एक सय तीस मिलियन स्विस फ्राँक बराबरको सामान किनेर ल्याएका छन्। कोरोनासँग जुधिरहेका स्वास्थ्यकर्मी र अस्पताल सम्बद्धलाई पहिलो प्राथमिकतामा राखेर पन्जा, चश्मा,थर्मामिटर,तलदेखि माथिसम्मको सुरक्षित सेट सबै किनेर जेनेभा आइपुगेपछि उनले भने, ‘यो सबै मैले नाफा नखाइकन सबैलाई सजिलै पुगोस् भन्ने उद्देश्यले ल्याएको हुँ।’ 

उनी आफ्नो कम्पनीका दुई सहयोगीसहित जहाजबाट सामान बोकेर साना गाडीमा हालिरहेका धनाढ्य अब्दुल्लाह विमानस्थलका कर्मचारी झैँ सरल पोशाकमा काम गरिरहेका थिए। उनले पत्रकारसँग भने, ‘हेर्नाेस् मलाई यसरी आफूले गरेको काम देखाउने रहर थिएन तर आइहाल्नुभयो। यी सामानको मूल्य सूची सबै पारदर्शी छ। जेनेभाको ब्यापार संघसँग समन्वय भएको छ। कुनै अस्पताल या सरकारसँग पहिल्यै सम्झौता भएको छैन। कतै बिकेन भने यसको जिम्मेवारी मेरो हुनेछ। तर तपाइँहरुलाई थाहै छ, यो महामारीको बेला सहयोग गर्नु धर्म पनि हो।त्यसैले मलाई मैले तिरेको मोलमै सामान उपलब्ध  गराउने कुरा सार्वजानिक गर्न चाहन्छु। यसको लागि पहिलो प्राथमिकता अस्पताल, स्वास्थ्य र सफाइकर्मी हुनेछन्। अनि मानिसलाई अति आवश्यक सामान पुर्याउने कम्पनीका कामदार हुनेछन्। अनि त्यसपछि सर्वसाधारण।’

बजारमा चलिरहेको भाउभन्दा सस्तोमा सामान बेच्न लागिरहेको बताउँदै अब्दुल्लाहले आफ्नो सानो मिहिनेतले कसैको ज्यान बाँच्दछ भने त्यही नै आफूलाई ठूलो कमाईं हुने बताए। स्विटजरल्याण्ड सरकारले अहिलेसम्म कोरोनाको प्रकोप छिमेकी देश इटाली र फ्रान्समा जस्तै बढ्न नदिन यथासक्य प्रयास गरिरहेको छ। स्विसमा अहिलेसम्म कोरोनाको कारण ११७४ जनाले ज्यान गुमाएका छन् भने २६ हजार संक्रमित छन्।

प्रकाशित मिति: : 2020-04-16 15:05:00

प्रतिकृया दिनुहोस्