तरकारी विक्री हुन छाडेपछि बाराका किसानहरु मर्कामा

गत चैत्र ११ गतेदेखि जारी लकडाउनको कारण तरकारी विक्री हुन नसक्दा बाराका किसानहरु मर्कामा परेका छन् । बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोलमा सामुहिक तरकारी खेती कार्यक्रम अन्तरगत झण्डै ३० विगाहामा काक्रो, बोडी, करेला, लौका, खुर्सानीलगायतका विभिन्न प्रकारका सागको खेती गरिएपनि विक्री गर्न नसक्दा लाखौ मूल्य बराबरको तरकारी खेतमै सडने अवस्थामा पुगेको छ। 

लकडाउन भन्दा अगाडि त्रिवेणी टोलका किसानहरुले उत्पादन गरेको काक्रो प्रतिकिलो २०, बोडी प्रतिकिलो ३०, करेला प्रतिकिलो ६०, खुर्सानी प्रतिकिलो ६०, लौका प्रति पिस ४० रुपैयाँमा खेतबाटै विक्री हुने गरेकोमा अहिले लकडाउनको कारण तरकारी विक्री हुन नसकेको स्थानिय कृषक विवेक कुशवाहाले बताए। 

सो गाउँका किसान श्रीलाल कुशवाहाले भने,‘ आफ्नो उत्पादन पूर्ण रुपमा आर्गेनिक रहेको र तरकारी विक्री नहुँदा अब लाखौंको नोक्सानी व्यहोर्नु पर्ने अवस्थामा पुगेको छौं।

यसैबीच बाराका तरकारी किसानहरुको समस्याका सम्बन्धमा प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहसग बुझ्दा लकडाउनको कारण किसानलाई असुविधा भएको प्रति दुःख व्यक्त गर्दैै तत्काल सम्बन्धित निकायलाई किसानको तरकारी विक्री वितरणको लागि आवश्यक निर्देशन दिने जानकारी दिए  ।

वीरगञ्जमा हरियो तरकारी नपाएर आम उपभोक्ताहरु प्रभावित भएको बेला झण्डै ३/४ किलो मिटरको दुरीमा पर्ने फेटामा तरकारी विक्री नभएर किसान मारमा परेका छन्। यसतर्फ बारा,पर्साका सम्बन्धित निकाय गम्भिर हुनुपर्ने देखिएको छ ।

प्रकाशित मिति: : 2020-04-16 15:27:34

प्रतिकृया दिनुहोस्