प्रदेश २ सरकारले अब घरमै राहत पुर्‍याउने !

कोराना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको लागि प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।

मन्त्री परिषदको आइतबार सम्पन्न बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्‍याउने गरि दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो।

पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले व्यवस्थापन गर्न नसकेकाे जनगुनासो आएको थियो। यसलाई मध्य नजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने योजना ल्याएको छ ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गर्ने छ। खरिद गरिएकाे सामान प्याकेट तयार गरेरै वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।

स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरि वास्तविक पिडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ।

त्यसै गरि मन्त्री परिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गरेको छ । 

उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ। त्यसै गरि मन्त्री परिषदले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको छ ।
 

प्रकाशित मिति: : 2020-04-19 12:41:28

प्रतिकृया दिनुहोस्