यो कथा-व्यथा हो आजको अमेरिकाको !

अमेरिका जे पढिन्छ, त्यस्तो पनि छैन। जे देखिन्छ, त्यस्तो पनि हैन। जे भोगिन्छ, त्यही मात्र अमेरिका हो।

अमेरिका यतिबेला कोरोना कहरको इपिसेन्टर बनेको छ। पछिल्लो साता दिनमा औसतमा दुईहजार अमेरिकी लाश बनिरहेका छन्। यो समाचार लेखिरहेको बेला अमेरिकामा मृतकको संख्या ४१ हजार र संक्रमितको संख्या सात लाख ६० हजार नाघेको छ।

अमेरिकाको यो दशा हेरेर संसारभरका मानिसको दिमाखमा प्रश्नको फालिम लागेको छ- विश्वको एक मात्र महाशक्ति राष्ट्रको यस्तो हालत किन भैरहेको छ ? के अमेरिका कोरोना भाइरससामु निरीह भएकै हो त ? यसको प्रतिरोधका लागि कुनै प्रयत्न भैरहेको छ कि ?  

तर, यी प्रश्नहरूको उत्तर दिने अमेरिकी राष्ट्रपति ट्रम्प सुट र टाइ फेरेर दिनहुँ प्रेस व्रिफिङ्का लागि ह्वाइट हाउसका भिन्न भिन्न कोठामा प्रस्तुत हुन्छन्। तर, सुट-टाइ र कोठा फेरे पनि उनले भन्ने कुरा भने लगभग एकै प्रकारका हुन्छन्। या त उनी चीन र डब्लुएचओलाई आरोप लगाउँछन् या त डेमोक्रेटलाई सत्तोसराप गर्छन् या अनेक मिथ्यांक प्रस्तुत गर्दै अमेरिका लकडाउनका लागि बनेकै देश हैन भन्दै मिडियाकर्मीको हुर्मत लिन्छन्। 

अमेरिकाका अधिकांश राज्यले होम स्टे अर्डर जारी गरे पनि त्यसको कडाइका साथ लागु भएको छैन। सोसल डिस्टान्सिङ, सार्वजनिक स्थलमा मास्क लगाउनेलगायतका मार्गदर्शक सिद्धान्त जारी गरे पनि त्यसको पहिलो उलंघनकर्ता राष्ट्रपति ट्रम्प नै हुन्छन् । उनी ठाडै भन्छन्, 'यो सीडीसी गाइडलाइन्स मेरा लागि अनिवार्य छैन। म राष्ट्रपति हुँ, मलाई कानुन लाग्दैन।'  

उनी मूलत: पाँच कुराको वहस पैरवी गरिरहेका छन्, पहिलो यो कोरोना भाइरस फैलनुमा चीन र डब्लुएचओ दोषी छन्। दोस्रो, अमेरिकाको इकोनोमी खुल्ला हुनुपर्छ। तेस्रो, कोरोनाका विरामीलाई मलेरियाको औषधी खुवाउनुपर्छ। चौथो, यो सबैका लागि डेमोक्रेट दोषी छन् । पाँचौं, यो समस्याबाट मुक्त गराउन उनले नै अमेरिकी राष्ट्रपतिमा जित्नुपर्छ। 

ट्रम्पको यो वहस पैरवीकै कारण उनका समर्थक सडकमा उत्रिएका छन्। अमेरिका खुल्ला गर्नुपर्छ भन्दै बन्दुकसहित उत्रेका उनका समथर्कले सीडीसी गाइडलाइन्सकै धोती लगाइरहेका छन्। तर, राष्ट्रपति ट्रम्प ट्विट गर्दै उनीहरूलाई अरू उक्साइरहेका छन्। 

अमेरिकामा अरू सबैको अभाव भए पनि बन्दुक र रक्सीको अभाव छैन। धेरैजसो राज्यमा यी दुबै अत्यावश्यक वस्तुको सूचीमा राखिएकाले लिकर्स स्टोर र गन स्टोर खुल्ला छन्। यी दुबै स्टोरमा अमेरिकी जनताको लामो लामो लाइन देखिन्छ। कसरी बन्दुक र रक्सी अत्यावश्यक वस्तुको सूचीमा पर्यो ?, आमअमेरिकी जनताले बुझ्न सकेका छैनन् । समाजशास्त्रीहरू भन्छन्, 'अहिलेको यो तनावपूर्ण स्थितिमा अमेरिकीलाई रिल्याक्सका लागि पनि रक्सी उपलव्ध गराउनु पर्छ। पव, रेष्टुरेन्ट बन्द भएको बेला घरमै खाने ब्यवस्था नभए सडकमा उत्रन्छन्।' 

अनि बन्दुक चाँहि ? यसमा समाजशास्त्रीहरू भन्छन्, 'अमेरिकी जनता कोरोनापछिको अवस्था के हुने हो? त्यसका बारेमा ढुक्क छैनन् र सुरक्षित हुन बन्दुकको सहारा खोजिरहेका छन्। यसै पनि यो चुनावी वर्ष हो यो र त्यसमा पनि ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।'

यसरी गन स्टोर र लिकर्स स्टोरका मालिक मालामाल भैरहेको बेला आम अमेरिकी जनतामा भने १२०० अमेरिकी डलरको स्टिमुलस चेककै चर्चा छ। जसले कर दाखिला गर्दा रकम फिर्ता पाएका थिए, उनीहरूको पैसा आइसक्यो। जसले उल्टै रकम तिरेका थिए, उनीहरू आईआरएसको गेट माई पेमेन्ट र आफ्नो बैंक अकाउण्ट लगइन र लगआउट गर्दैमा हैरान छन् । सीपीए, ट्याक्स भरिदिने व्यक्ति र बैकहरू भन्छन्, 'कर तिर्दा दिएको बैंकको खाताको जानकारी आईआरएससँग हुँदैन। त्यसैले त्यसका लागि चेक पर्खनुपर्छ।

तर, चेक चाँहि कहिले आउँछ ? आईआरएस भन्छ- 'अहिले आउने बेला भएको छैन। किनकि, त्यसमा राष्ट्रपति ट्रम्पको नाम छापिदैछ, त्यसका लागि हप्तौ लाग्न सक्छ। त्यसैले पर्खनुको विकल्प छैन।'

अमेरिकामा अरू सबैको अभाव भए पनि बन्दुक र रक्सीको अभाव छैन। धेरैजसो राज्यमा यी दुबै अत्यावश्यक वस्तुको सूचीमा राखिएकाले लिकर्स स्टोर र गन स्टोर खुल्ला छन्। यी दुबै स्टोरमा अमेरिकी जनताको लामो लामो लाइन देखिन्छ। कसरी बन्दुक र रक्सी अत्यावश्यक वस्तुको सूचीमा पर्यो ?, आमअमेरिकी जनताले बुझ्न सकेका छैनन् । समाजशास्त्रीहरू भन्छन्, 'अहिलेको यो तनावपूर्ण स्थितिमा अमेरिकीलाई रिल्याक्सका लागि पनि रक्सी उपलव्ध गराउनु पर्छ। पव, रेष्टुरेन्ट बन्द भएको बेला घरमै खाने ब्यवस्था नभए सडकमा उत्रन्छन्।' 

उता, जसले थोरै चेक र धेरै क्यासमा काम गरे उनीहरूलाई कोरोनाका प्रभाव परेको छैन भने दशै नै आएको छ। काम गर्न जानु परेको छैन, सातामा ६०० बेरोजगार भत्ता अनि मेडिक्ल इन्स्योरेन्सको थप पैसा पनि आएको छ। केहृी महिना अघि हजारौमा कर फिर्ता आएको थियो। केही दिनअघि १२०० का दरले स्टिमुलस चेक, १७ वर्षमुनिका बच्चाका लागि ५०० थप पनि आएको छ। छोराछोरीको स्कूल बन्द छ, फुडस्ट्याम्प पनि थपिएर आएको छ। 

तर, चेकमा काम गर्नेका लागि भने यी सबै कुरा आकाशको फल आँखातरी मर जस्तै छ। उनीहरूले पाउँने सम्भावना रहेको स्टिमुलस चेकमा ट्रम्पको नाम छापिदैछ। त्यो आउँन हप्तौ लाग्न सक्छ। 

रह्यो अमेरिकामा रहेको नेपाली डायस्पोराको कुरा। न्युयोर्कमा रहेको मिनी नेपालले कोरोनाको महंगो मूल्य चुकाएको छ। नेपालीको अर्को बाक्लो डायस्पोरा डीसी मेट्रो एरियामा पनि यसको छायाँ प्रभाव परेको छ। यस बाहेकका अन्य ठाउँको नेपाली समुदायमा अपवादलाई छोडेर सबै ठीकै छन्। कोरोनाको प्रभाव ज् जति परेको छ त्यो भन्दा धेरै 'म्याग्निफाइ' भएको छ। 

यद्यपि, मानसिक असर भने नेपालीलाई बढी नै भएको फेसबुकमा छरपष्ट छ। उनीहरूको व्यवसाय र रोजीरोटीमा यसको स्वभाविक प्रभाव परेको छ, त्यसको अनुमान अहिले गर्न सकिए पनि हिसाबकिताव गर्न भने समय लाग्छ। 

यतिबेला अमेरिकाको नेपाली डायस्पोरा इन्फर्मेशन बिजारेको अवस्थामा छ। सूचनाको जंगलमा आज हरेक नेपाली मिडियाकर्मी भएर प्रस्तुत हुँदा अनेक भ्रमहरू पनि सिर्जना भएका छन्। फेसबुक लाइभको आतंक छ। यस्तो लाग्छ, आज कोही फेसबुक लाइभमा छैन भने त्यो अमेरिकाको नेपाली नै हैन। कोरोनाले अमेरिकाका हरेक नेपालीलाई मिडियाकर्मी बन्ने अध्याय खोलिदिएको छ। 

भनिन्छ, अमेरिका जे पढिन्छ, त्यस्तो पनि छैन। जे देखिन्छ, त्यस्तो पनि हैन। जे भोगिन्छ, त्यही मात्र अमेरिका हो। यो विशाल देशमा भोगाइ पनि सबैको एकनाश छैन। फेरि यतिबेलाको अमेरिका ट्रम्पको अमेरिका हो, हाकाहाकी 'अमेरिकी फस्ट' भन्ने सोचले शासन गरिरहेको यसको क्यारेक्टर नै अर्कै छ। तर, यथाथर्मा यो आप्रवासीको देश हो जहाँ अमेरिकी फस्ट आफैंमा एक ठूलो विरोधाभाष हो। 

प्रकाशित मिति: : 2020-04-20 04:43:10

प्रतिकृया दिनुहोस्