लकडाउन खुलेको १५ दिनपछि परीक्षा गर्ने तयारी गरेका छौं : शिक्षामन्त्री पोखरेल (अन्तर्वार्ता)

नेपाल लाइभ

काठमाडौँ

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको छ। यहीकारण शैक्षिक संस्था बन्द छन्। भर्ना र परीक्षाहरु स्थगित भएका छन्। स्थगित परीक्षा कहिले हुन्छन्, नयाँ शैक्षिक सत्र कहिले सुरु हुन्छ? भन्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग नेपाललाइभकर्मी डिबी खड्काले गरेको कुराकानी :

लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द छन्।  परीक्षा स्थगित भएका छन्। समय घर्किन लागिसक्यो। नयाँ शैक्षिक सत्र र रोकिएका परीक्षा कसरी अघि बढाउने योजना बनाउनुभएको छ?

हाम्रो शैक्षिक सत्र बिग्रिएको छैन। सामान्यत: बैशाख  २ बाट भर्ना सुरु हुँदै १४ सम्म  चल्थ्यो। बैशाख २१ गतेबाट पठनपाठन सुरु हुने हो।  हाम्रो तालिका हो यो। कक्षा १०, ११ र १२ को परीक्षा स्थगित गर्नुपर्‍यो। डब्लुएचओलाई आधार मान्दा नेपाल कोरोनाकै कारण ज्यान नगुमाउने देशमा पर्छ। सरकारको तर्फबाट यसलाई रोकथाम गर्न चौतर्फी पहल भएको छ । बैशाख २५ सम्म लकडाउन नै छ। 

त्यसपछि कता-कता  सम्भव हुन्छ,  त्यता खोल्दै जाने हो। सबैभन्दा पछाडि खोल्नेचाहिँ शैक्षिक संस्थाहरु हुन्छन्। किनभने त्यहाँ धेरै भीडभाड  हुन्छ। योभन्दा विकराल परिस्थिति भएछ भने सोहीअनुसार सोच्छौँ। यही अवस्था रह्यो र स्थिति नियन्त्रणमा आउन थाल्यो भने २५ गतेसम्म नतिजा प्रकाशन गर्ने र त्यसको अर्को हप्ता भर्ना अघि बढाउने हो। तिनै तहका सरकारले यो काम मिलेर गर्नुपर्छ। विश्वविद्यालय, सिटिइभिटी र परीक्षा बोर्डले लकडाउन खोलेको ३ हप्तभित्र परीक्षा गराउन सक्छु भनेका छन्। जेठभरिमा परीक्षा गराउने कोशिस गर्छु। उच्चस्तरीय समिति र  मन्त्रिपरिषदले आवश्यक निणर्य गर्छ । ढिलोमा असार १५ सम्म १०, ११, १२ को परीक्षा गर्छौं। नतिजा एक महिनाभित्र प्रकाशित गर्छौं। 

हाम्रो सामान्यत: महत्वपूर्ण चाडपर्वअगाडि नै पठनपाठन सुरु हुन्छ। जाडोको बिदा, गर्मीको बिदा, चाडपर्वको बिदा मिलाइन्छ र अतिरिक्त कक्षाहरुको व्यवस्था गरेर सिकाइलाई सुनिश्चित गरिन्छ। त्यसकारण सबैलाई म के भन्न चाहन्छु भने शैक्षिक सत्र तलमाथि हुन दिइँदैन। यत्रो विपत्ति आएका बेला असर त पर्छ नै। असामान्य परिस्थितिमा असामान्य तरिकाले सोच्नुपर्छ र काम गर्नुपर्छ । सकेसम्म शैक्षिक सत्र नबिगार्ने ढगंले लागिरहेका छौं। 

प्रकाशित मिति: : 2020-04-30 11:57:02

प्रतिकृया दिनुहोस्