अन्तर्वार्ता

राहदानी विभागकी प्रवक्ता भन्छिन्– मसँग पनि विचाैलियाहरु माेलमाेलाइ गर्न आए (भिडियाे)

उमेश थापा

काठमाडौं

राहदानी विभागकी प्रवक्ता हुन्, दुरपदा सापकोटा। राहदानी विभागमा सामान्य पासपाेर्ट लिनकाे लागि पनि मानिसहरुले दिनहुँ भाेग्नु परेकाे उनले नजिकबाट नियाल्ने र भाेग्ने गरेकी छन्। 

आखिर राहदानी विभागमा किन सधैं समस्याहरु उत्पन्न हुन्छ ? के राहदानी विभागमा सहज तरिकाले काम गर्न सकिँदैन ? यी र यिनै विषयमा रहेर बिएल नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ : 


 विभागमा लाइन व्यवस्थापन कहिले हुन्छ ?

याे समस्या समाधान गर्न हामी अगाडि बढेका छौँ। पहिलाकाे भन्दा  अहिले कम छ तर अस्ति सर्भर बिग्रिएर यस्तो देखिएको हो। व्यवस्थापन चाँडै हुन्छ। सबै मानिसहरु काठमाडौँमा नै आएर राहादानी सेवा लिँदा पनि यस्तो भएको हो। मानिसहरुले आफ्नाे जिल्लाबाट नै राहादानीको सेवा लिने हो भने यहाँ भीडभाड कम हुन्छ।

साइबरहरुले राहादानीको फारम भरेको पाँच हजारदेखि दश हजार लिन्छन् अनि माथिको कर्मचारीले साइन गर्दिछन् भनेर पठाँउछन्, के हाे याे ?

सेवाग्राहीले जसलाई पैसा दिएको हो त्यस व्यक्ति वा साइबरबारे हामीलाई रिर्पोट गर्दा हुन्छ। हामी पुलिसलाई भन्छौँ र तुरुन्त कारबाही हुन्छ। कारबाही गरेका उदाहरणहरु थुप्रै छन्। हामीलाई थाहा हुने कुरा भएन, त्यसैले गुनासो लेखेर आउनु पर्‍याे। जब मानिसहरु दुःख लिएर हामी कहाँ आउनुहुन्छ, हामी चेक/जाँच गरेर गर्छाैँ। तर, मानिसहरु भने कार्यालयका मानिसहरु मिलेका छन् भन्ने कुरा झुट हाे।

कार्यालय बाहिर भएका बिचौलियाहरुको बोलीमा नै माथि पैसा नबुझाइ काम हुन्न भन्छन् नि ?

यो ठिक कुरा हो। मैले मिडियाहरुलाई के अनुरोध गर्न चाहन्छु भने- यस्तो थाहा पाउनुभयो भने कि पुलिस कहाँ कि हामीलाई भन्नु। त्यसले गर्दा हामीलाई थाहा हुन्छ र कारबाही गर्न सजिलाे हुन्छ। तर, आरोप लगाउन सजिलो हुन्छ। मैले पनि एउटा क्लिप सुनेँ तर त्यत्तिकै आरोप लगाउन मिल्दैन। उहाँहरुले पनि सहयोग गर्नुभएको छ। एक/ दुई जना बिचौलियाहरु प्रक्राउ गर्न मद्दत गर्नुभएको छ।

यहाँ भीडभाड कम गर्न त साइबर र बिचौलियाहरुलाई पो अनुरोध गर्नुपर्छ जस्तो देखिन्छ त ?

सबैभन्दा ठुलाे कुरा भनेकाे इमान्दारिता हाे। बिचरा, त्यो चप्पल लगाउने दुःखीसँग दुई/चार पैसा कसरी लिनसकेको हो। हामी सधैंभरि बाटोमा जान सक्दैनाैँ। हाम्रो पनि यहीँको काम भ्याइनभ्याइ हुन्छ। मानिसहरुसँग इमान्दारिता छैन, यही नै हो मौका जस्तो गर्छन्। धेरै कुराहरु आउँछन्/सुन्छिन तर हामीले केही गरेको हुँदैनाैँ, त्यस्ताे भन्ने व्यक्तिलाई कम्तिमा प्रहरीमा बुझाउँन पनि भन्छौँ। कर्मचारी मिलेको छ भनेर प्रमाणित गर्न सक्नुपर्‍याे नि, जहिले एउटै कुराले आरोप लगाउनु हुँदैन। यो मेरो च्यालेञ्ज नै भयो।

डबल राजश्व तिर्नु भएका सेवाग्राहीहरुले पैसा कहिले फिर्ता पाउँछन् त ?

राजश्वको कन्ट्रोल हाम्रो हातमा हुँदैन। हामीले सेवाग्राहीहरुले तिरेको डबल राजश्वको फाइल अर्थमन्त्रालमा पठाएका छाैँ। हामीले अहिले पनि निवेदन संकलन गरेर पठाएका छाैँ। सेवाग्राहीहरुले पनि राजश्व तिर्दा सुरुमा बुझनुपर्छ।

सेवाग्राहीहरुले बुझे तर यहाँ भएको अनलाइन पेमन्ट सिस्टमले भने नबुझेको हो नि ?

विशेषत कस्तो मानिहसरुको पैसा गएको छ भने जो व्यक्ति जिल्लामा पाँच हजार तिरेर आउनुभएको छ त्यस व्यक्तिले यहाँ आएर पनि सिधैं १२ हजार बुझाउनु हुन्छ। यसमा त उहाँहरुले पनि बुझ्नुपर्छ नि। यहाँबाट पैसा डबल जाने निकै कम छ। छ भने म यसलाई हेरी हाल्छु। यहाँ मात्र डबल पेमेन्ट भएको घटना निकै कम छ।

तपाईं सामान्य कपडामा यहीँ कार्यालय बाहिर जाँदा बिचौलियाहरुले काम गर्दिन्छु भनेको छ ?

मलाई बिचौलियाहरुले सोधेका छन्, मैले भोगेकाे छु। त्यसपछि हामीले पुलिसलाई भन्छौँ। हामीले भन्ने पुलिसलाई हो। हामीले नै गएर समात्न त सक्दैनन्। मान्छे हेर्दा कस्तो सोझे हुन्छ, एउटा ब्याग बोकेको हुन्छ तर काम भने बिचौलिया गरेको भेटिन्छ। हामीलाई पत्याउँनै गाह्राे। अहिले साइबर पनि बिचौलियाको काम कम हुन्छ।

यहाँ आउने सेवाग्राहीले कहिलेदेखि सरल तरिकाले सेवा पाँउछन् त ?

यो आजको भोलि हुने काम होइन। तर, असम्भव पनि छैन। पहिला एमआरपी पासपोर्टको काम हुँदा जिल्लाबाट निकै धेरै भएको थियो। अहिले जिल्लामा राहदानी वितरण र फारम भर्ने संख्या निकै कम छ। जिल्लामा आवेदन संख्या बढाउनुपर्छ। यसले गर्दा मानिसहरु यहाँ आइराख्नु पर्दैन र ठगिने डर पनि हुँदैन। हामीले सप्टवेयरको क्यापिसिटी (क्षमता) बढाउने पनि माग गरेका छौँ।

राहदानी विभागमा काठमाडौँको लागि फारम भर्ने मात्र आए सहज हुन्छ होला ?

अब मानिसहरु यहाँ अनेकाैँ समस्याहरु लिएर आउनुहुन्छ, बिरामीदेखि विभिन्न कुराकाे टेस्टका गुनासाहरु ल्याउनुहुन्छ। उहाँहरुले हामीले के गर्ने हाे, के सही वा गलत हो छुट्याउन पनि गाह्राे छ। मान्छेहरुलाई लाग्छ पास आए काम हुन्छ तर यस्तो होइन। बिस्तारै बनाउनुपर्ने मानिसहरुले कृपया आफ्नाे जिल्लाबाट नै राहादानी निकाल्नु भन्न चाहन्छु।

अन्त्यमा यहाँ आउने सेवाग्राही, प्रहरी र बिचौलियाहरुलाई के भन्नुहुन्छ ?

अब यहाँको प्रहरीको सेट पहिला नाराणहिटीको आउनुहुन्थ्यो भने अहिले यहाँ प्रहरीको नयाँ टिम आउनुभएको छ। बाहिर पट्टी भने कालिमाटी प्रहरीले हेर्छन् र हामीले उहाँसँग भेटेर पनि भनिसकेका छौँ। अब बिस्तारै भीडभाड कम हुन्छ। सेवाग्राहीको हकमा भने बिचौलियाहरुलाई पैसा नदिनु र बिचौलियाहरुले मागे भने सिधैं हाम्रोमा आएर गुनासो वा निवेद दिनुहाेला। त्यसरी हामीलाई तुरुन्त एक्सन लिन सहज हुन्छ। बिचौलियाहरु पक्राउ पसर नै रोखेका छन्।

प्रकाशित मिति: : 2023-01-09 22:10:00

प्रतिकृया दिनुहोस्