खाद्यान्न र औषधिको भेषमा लागूऔषध कारोबारी सक्रिय, नेपाललाई पनि सचेत रहन इन्टरपोलको सर्कुलर

युरोपेली देश स्पेन कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुनेमध्येको सूचिमा पर्छ। यहाँका सुरक्षाकर्मीहरू नागरिकमा कोरोनाको संक्रमण र प्रभाव कम बनाउन दिनरात खटिरहेका छन्। यसैबिच गत अप्रिलको पहिलो साता स्पेनमा पूर्वानुमान नगरेको एउटा ठूलो घटना भयो।

भ्यालेन्सिया र एलिसेन्टे जस्तो शहरमा खाना वितरण गर्ने बहानामा चालकहरूले अवैध लागूऔषध ओसारपोसार गरेको अवस्थामा ७ जनालाई पक्राउ गर्‍यो। यो घटनापछि स्पेनी प्रहरी मात्र होइन, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) पनि सक्रिय भएको छ।

कोरोना जस्तो महामारीमा अवैध लागूऔषधका कारोबारी सक्रिय हुँदा सुरक्षाकर्मी माझ चुनौती थपिएको छ। यस विषयमा स्पेनी सुरक्षाकर्मीले अनुसन्धान गर्दा लागूऔषध कारोबारीले ‘लकडाउन’ को बेला साइकल, मोटरसाइकल र कारलाई कोकिन र गाँजातस्करीको माध्यम बनाउन थालेको पुष्टी भएको छ।

अनुसन्धानमा सक्रिय पदाधिकारीले होम डेलिभरी गर्ने निहुँमा पछाडि भिर्ने झोलामा लागूपदार्थ लुकाएको तथ्य पनि उजागर गरेका छन्। यस्तै, आयरल्यान्डमा पनि अप्रिलकै पहिलो साता पिज्जा बाकसबाट कोकिनको होम डेलिभरी गर्दै गर्दा ८ सय ग्राम कोकिन र २ थान पेस्तोलसहित केही व्यक्तिलाई आइरिस प्रहरीले पक्राउ गरेको छ। 

यो घटनापछि इन्टरपोलले सबै देशका प्रहरीलाई एउटा सन्देश प्रवाह गर्दै चनाखो हुन सूचित गरेको छ। साथै उसले अन्तर्राष्ट्रिय लागूऔषधका तस्करहरू ‘लकडाउन’ को फाइदा उठाउन सक्रिय भएकोसमेत बताएको छ। 

‘पछिल्लो समय लागूऔषध तस्करले लकडाउनको फाइदा उठाउँदै खाद्यान्न ढुवानी गर्ने बहानामा लागूऔषध ओसारपोसार गर्दै आइरहेका छन्,’ इन्टरपोलको मुख्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

इन्टरपोलले पछिल्ला दिनमा आयरल्यान्ड, मलेसिया, स्पेन र युकेका प्रहरीले गरेको अप्रेशन र उनीहरूको रिपोर्टको आधारमा सबै सदस्य राष्ट्रलाई सचेत पनि गराएको छ।

‘लागूऔषध तस्करले खाध्यान्न, औषधि तथा अत्यावश्यक सामाग्री ढुवानीको बहानामा प्रतिबन्धित अवैध लागूऔषध कोकिन, गाँजा, केटामिन र एक्स्टसी जस्ता लागूऔषध तस्करी गर्दै आएका छन्,’ इन्टरपोलले भनेको छ। इन्टरपोलले सम्बन्धित देशका प्रहरी अधिकारीलाई तस्करीमा संलग्न उनीहरूको देशको तस्करको नाम र विवरणसहित सर्कुलर पनि पठाएको छ।

इन्टरपोल भन्छः यस्ता बस्तु आयातमा ध्यान दिनू

‘लकडाउन’ को अवस्थामा पनि लागूऔषध तथा हातहतियारको ओसारपसारको घटना बाहिरिएपछि इन्टरपोलले आफ्ना १ सय ९४ सदस्य देशका प्रहरीलाई एउटा ‘गाइड लाइन’ पठाएको छ। जसमा खाद्यान्न, औषधि तथा सवारी साधनको आयातनिर्यातमा ध्यान दिन सूचित गरिएको छ। यसमा तस्करहरूले ‘लकडाउन’ को फाइदा कसरी लिन सक्छन्? र यस विषयमा अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी दिइएको छ।

इन्टरपोल पुलिस सेवाका कार्यकारी निर्देशक स्टिफनले भनेका छन्, ‘कोभिड–१९ बाट विश्व प्रभावित भइरहेको बेला अपराधीहरू आफ्ना गतिविधि अनुकूल बनाउने अभियानमा छन्। त्यसैले एकअर्काको सहयोग र सफलताबाट अपराध न्युनीकरण गर्न सकिन्छ।’ उनले कोभिड–१९ ले स्पेन समस्याग्रस्त हुँदा पनि यहाँको प्रहरीले गरेको कामको उच्च मूल्याकंन गर्दै प्रसंसा गरे। र, उनले अन्य देशलाई पनि यसैगरि काम गर्न आग्रह गरेका छन्।

इन्टरपोलको चेतावनीः खाना र खाध्यान्न होइन, लागू औषध भित्रिन सक्छ

In early April, Spain’s @policia arrested 7 individuals dressed as food delivery drivers in Alicante and Valencia delivering cocaine and marijuana by bicycle, motorcycle and car. Some of the drugs had been concealed inside a false bottom of home delivery backpacks. pic.twitter.com/m0v2tECZ18

— INTERPOL (@INTERPOL_HQ) April 30, 2020

पछिल्ला केही घटनालाई आधार मान्दै इन्टरपोलले बिपद्को अहिलेको अवस्थामा घरमा आउने पार्सलमा खाना र खाद्यान्न मात्र नभएर अवैध लागूऔषध पनि भित्रिन सक्ने भन्दै सजग रहन सवै सदस्य राष्ट्रका प्रहरीलाई अवगत गराएको छ।

‘कोभिड–१९ ले जताततै भोकमरी फैलिएको छ। यस्तो अवस्थामा सहयोग गर्ने बहाना र सवारीसाधन चलाउने निहुँमा लागूऔषध तथा अवैध सामाग्री ओसारपोसार गर्न सहज हुने ठान्दै त्यस्तो कार्य बढ्न सक्छ’, स्टिफनले भनेका छन्।

यो बेला चालकहरू बढी आउँजाउँ गर्ने कारण तस्करले चालकलाई पैसाको लोभमा फसाउनसक्ने तर्फसमेत ध्यान दिन भनिएको छ।

प्रकाशित मिति: : 2020-05-01 18:27:00

प्रतिकृया दिनुहोस्