राहतको माग गर्दै जिराभवानी गाउँपालिकाको कार्यालय घेराउ

राहत सामग्रीको माग गर्दे जिराभवानी गाउँपालिकाको कार्यालयमा सर्वसाधारणले घेराउ गरेका छन । जनता समाजवादी पार्टीका क्षेत्रीय संयोजकको नेतृत्वमा आइतबार सेढवास्थित गाउँपालिका कार्यालय घेराउ गरिएको हो ।

५ वटा वडा रहेको सो गाउँपालिकाको २ र ४ नं. वडामा मात्र राहत बाँडिएको र बाँकी ३ वटा वडामा अहिलेसम्म राहत बाँडिएको छैन। 

राहत नपाएका २ सय भन्दा बढी बिपन्न गरिव तथा दलितहरुले नाराबाजी गर्दै गाउँपालिका कार्यालयको अगाडि धर्नामा बसेको तत्कालिन राजपाका क्षेत्रिय संयोजक नेसार आलमले बताए । 

उनले सरकारले जारी गरेका लकडाउन ४० दिन बितिसक्दा पनि स्थानीय सरकारले राहत वितरण नगरेकोले बिहान बेलुकाको छाक टार्न निकै कठिनाइ भएको बताए । 

‘ जनप्रतिनिधिहरु राहत वितरणको नाममा काखा पाखा लगाउँदै राहतको वितरण गर्दैछन् । कार्यालयमा उपमेयर बाहेक कोही पनि भेटिएन,‘ उनले भने‘। यदि गरिव जनतालाई चाँडै राहत नबाँडिए गाउँपालिका कार्यालयमा तालाबन्दि गर्ने उनले चेतावनी दिए।

गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थरुनीले आफ्नो एकल प्रयासमा राहत वितरण नहुने भएकाले अब चाँडै नै बोर्डका सदस्यहरुको बैठक राखेर राहत बाड्ने बताइन् । 

‘यसअघि पनि २ वटा वडामा राहत बाडिएको हो। तर राहतको सामान सकिएकाले ढिलाई भएको छ’, उनले भनिन्,‘यस समस्याको समाधान बोर्डको बैठक मार्फत छिटै अन्त्य गर्ने छौ।’

प्रकाशित मिति: : 2020-05-03 15:59:13

प्रतिकृया दिनुहोस्