कोरोनामा नेपाली सेलिब्रिटीको दिनचर्या– कोही सोसल मिडियाबाट दिक्क, कोही सक्रिय

जीवन बनिया

रुपन्देही

कोरोना भाइरस संक्रमणको त्रास बढिरहेको बेला हिजोआज विश्वका सबै सेलिब्रिटीहरूको ‘लाइफ स्टाइल’ परिवर्तन भएको छ।

घरमा ‘लकडाउन’ को अवस्थामा बस्नु पर्दा उनीहरू समय कटाउन विभिन्न उपायको खोजीमा छन्। यस्तै नेपाली सेलिब्रिटी पनि ‘लकडाउन’ को अवस्थामा समय कटाउन विभिन्न उपायको खोजीमा छन्। नेपाली सिनेमाका सुपरस्टार राजेश हमाल जहाँ जीम गरेर र विभिन्न गीतमा नाचेर समय काटिरहेका छन्, त्यही चर्चित अभिनेत्री करिश्मा मानन्धर छोरी कवितासँग ललितपुरको गोदावारीस्थित घरमा समाजिक सञ्जालबाट निकै टाढा रहेर समय बिताइरहेकी छिन्। 

उनलाई दैनिकी आउने कोरोनासम्बन्धि समाचारले दिक्क बनाइसकेको छ। जहिले मानिस मरेको न्युज पढ्दा उनलाई तनाव हुने रहेछ। त्यसैले उनी हिजोआज सामाजिक सञ्जालभन्दा पनि पुरानो फिल्म हेरेर समय कटाउन थालेकी छिन्। 

बिएल नेपाली सेवासँगको टेलिफोन संवादमा उनले भनिन्, ‘अर्को सातादेखि केही गर्ने सोच बनाएकी छु। अहिले पुरानो फिल्म हेरेर समय बिताइरहेको छु।’

तर, ‘लकडाउन’ मा भने चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई भने भ्याईनभ्याई छ। उनी यति बेला ‘मोटिभेस्नल भिडियो’ बनाएर समाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। साथै महाभारतको किताब पढिरहेको पनि बताउँछन्। ‘खाली समयको सदुपयोग गर्न म महाभारतको किताब पढिरहेको छु,’ उनले भने। 

उनीभन्दा जुनियर हास्य कलाकार ‘जिग्री ब्रो’ अर्थात कुमार कट्टेल दाजु र भाउजुसँगै चितवनमा डेरा जमाएर बसेका छन। धुर्मुस अर्थात सीताराम कट्टेलका भाई कुमार आफ्नो दाजु–भाउजु कुञ्जना घिमिरेसँगै चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा जुटेका छन्।

लुडो र क्यारमबोर्ड खेलेर ‘लकडाउन’ को समय बिताइरहेका कुमारले यसैबीच सती प्रथालाई चित्रण गरेर बनाइएको फिल्म ‘झोला’ हेर्ने मौका पाएका थिए। उनी ‘लकडाउन’मा केही ज्ञानवर्द्धक किताब पढ्न आफ्ना ‘फ्यान’ लाई विशेष आग्रह गर्छन। भन्छन्, ‘घरमा बस्दा नयाँ कुरा सिक्ने अवसर पनि हो। यसको सदूपयोग गर्नुहोस्।’

यस्तै, सुमधुर स्वरका धनी पशुपति शर्मा ‘लकडाउन’ अघि स्टेज कार्यक्रममा निकै व्यस्त हुन्थे। तर, अहिले स्याङ्जास्थित आफ्नो घरमा छन्। उनी घरमा आमाबुवा तथा छोराछोरीसँग बस्न पाउँदा खुसी लागेको बताउँछन्। भन्छन्, ‘अहिले गेटबन्द गरेर घरमा बसेको छु। समाजिक सञ्जालबाट साथीभाईसँग कुराकानी हुन्छ।’ 

पुतलीबजार–३ मा घर भएका उनी कारोनापछि अर्को गीत पस्किने तयारी गरिरहेका छन्। यसका लागि उनी नयाँ मौलिक गीत लेखिरहेका छन्। उनी विदेशबाट गाउँ फर्किएका साथीहरूलाई कोरोनाको विषयमा जानकारी पनि गराइरहेकै छन्। 

यस्तै, लोक दोहरीका गायक खुमन अधिकारी कोरोनाको हल्ला फैलिएसँगै देशविदेशका कार्यक्रम स्थगित गरेर काठमाडौंमै श्रीमती र छोरासँग बसिरहेका छन्। बिहान उठेर व्यायाम गर्न मन पराउने उनी ‘लकडाउन’ को समयमा जनचेतनाको गीत लेखेर बसिरहेका छन्। ‘पहिले विदेशमा हुने कार्यक्रमले परिवारलाई समय दिन पाउँदिन्थे। अहिले परिवारसँगै छु,’ उनले भने–‘परिवारको गुनासो अहिले सकिएको छ। छोरासँग खेलेर दिन बिताउँछु।’

यस्तै, अर्का चर्चित गायक बद्री पंगेनी पनि ‘लकडाउन’ मा पाल्पाको रामपुरमा परिवारसँगै रमाइलो गरेर बिताइरहेका छन्।

जनवादी गायक जीवन शर्मा भने आशावादी गीत बनाएर बसिरहेका छन्। उनी भन्छन्,‘घरभित्र बसेर पनि आशावादी गीत लेखिरहेको छु।’

उनी ‘लकडाउन’ मा निरास नबन्न सबैलाई सुझाव दिन्छन् र परिवारसँग समय बिताउँदा सकारात्मक उर्जाको विकाश हुने पनि बताउँछन्। 
 

प्रकाशित मिति: : 2020-05-06 09:58:00

प्रतिकृया दिनुहोस्