कोरोना संक्रमित दीपा शाहीले भनिन्– मेरो दुर्भाग्य ! छैटाैँ पल्टको परीक्षण पनि पाेजेटिभ

सुुदूर पश्चिममा कोरोना संक्रमण सुरु हुँदा पाँच जना संक्रमित थिए। सुरुवाती यो पल मुलुकका लागि चुनौतीपूर्ण थियो। घोषणा गरियो देश कोरोनाको दोस्रो चरणमा प्रवेश भयो।

कारण थियो, दुबईबाट आएका धनगढीका अमृत शाहीमा कोरोना संक्रमण  भेटियो। उनी सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा बसेको ११ दिनपछि उनकै भाउजू दीपा शाहीमा कोरोना सकारात्मक देखियो। 

अहिले अस्पतालमा पाँच मध्ये दीपा मात्र बाँकी छिन्। अरु सबै कोरोनालाई जितेर घर फर्किसके। 

कोरोनालाई जितेका उनका देवर अमृत घर फर्किएकै दुई साता बितिसकेको छ। त्यसैले दीपा तनावमा छिन्। उनलाई घरको याद आइरहेको छ। बच्चाहरू के गरिरहेका छन्, चिसो–तातो के खाए? आमाको मन न हो! 

अस्पतालमा मनोरञ्जनको नाममा वाईफाई सेवा छ। मोबाईल पनि कति चलाउने. उनलाई दिक्क लाग्न थालेको छ। 

३–४ दिन यतादेखि साझँको खाना घरबाट मगाउन थालेकी छन्। दीपा अस्पताल बसेको शुक्रबार ३६ दिन भयो। बुधबार उनको सातौं चरणको स्वाब टेस्ट भयो।

अहिले परिणाम कुरेर बसेकी छिन्। यसअघि सबै ६ वटा टेष्ट पाेजेटिभ नै आयो। बिएल नेपाली सेवासँग उनले भनिन्, ‘मेरो दूर्भाग्य। सायद त्यसैले मेरा सबै रिपार्ट पोजेटिभ आइरहेका छन्। सातौं रिपोर्ट नेगेटिभ आउँछ कि हेरौं?'

यसअघि सबैभन्दा ढिलो २८ दिनपछि कोरोनाका संक्रमित अस्पतालबाट फर्केका थिए। उनी ३६ दिनदेखि अस्पतालमै छिन्। सँगैको उठ बस र एउटै वासरुम प्रयोगले दीपालाई कोरोना सरेको डाक्टरको आशंका छ।

‘अस्पाताल आएदेखि आफू बिरामी छु जस्तो लागेकै छैन। म जस्तो आएको थिएँ. त्यस्तै छु। बिरामी छु जस्तो लाग्दैन। दिनको दुई पल्ट दवाई लिन्छु। त्यसमा पनि एउटा ग्यास्ट्रिकको हो, जुन मलाई पहिलेदेखि थियो। मेरो ग्रहगोचर खराब छ जस्तो लाग्छ’, उनी भन्छिन्, ‘डा.शेरबहादुर कमरले नियमित मलाई हेरिरहनु भएको छ। फोन गरेर आरामबिराम सोध्नु हुन्छ। लक्षण नै नभएको कोरोना मलाई भएको देखेर डाक्टर पनि हैरान छन्। जे होस मलाई चाँडै निको होला भन्ने विश्वास छ।’ 

प्रकाशित मिति: : 2020-05-08 15:42:00

प्रतिकृया दिनुहोस्