चीनमा सामाजिक दूरीलाई प्रभावकारी बनाउन नौलो प्रयोग

एजेन्सी

बेइजिङ

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा ल्याएको दावी गर्ने चीनले समाजिक दूरीलाई कायम राख्न नयाँ उपाय खोजेको छ। 

चीनमा गत सातादेखि स्कुल तथा कलेजहरू खुला भएको थियो। यस्तै, पार्क र पर्यटकीय क्षेत्र पनि सुचारु गर्ने रणनीति अनुरुप चीनले तीन फुटको दूरी कायम राख्न ‘हेड गियर’ को नयाँ अवधारणा अगाडी सारेको छ। 

गत डिसेम्बरको तेस्रो साता चीनको उहान शहरबाट फैलिएको कोरोनाका कारण विश्वभरि अढाई लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ। चीनले यसमा पूर्ण रूपले नियन्त्रण पाएको घोषणा गरे पनि कोरोनाका नयाँ संक्रमणले अझै पनि देश भाइरस मुक्त भइनसकेको स्पष्ट पारेको छ। 

यसैले गत साता चिनियाँ केटाकेटीहरू राष्ट्रिय उद्यानमा प्रवेश गर्दा ३ फुटको ‘हेड गियर’ लगाएर उपस्थित भएका थिए। यो अरुलाई प्रेरित गर्न पनि गरिएको थियो। चीनको मध्य हुनान प्रान्तको पिङजियाङ गाउँमा रहेको सिनिझुई राष्ट्रिय भूविज्ञान पार्कमा जम्मा भएका स्कुले छात्रछात्राले प्रदर्शनकै रूपमा भए पनि समाजिक दूरीको उदाहरण पेश गरेका थिए। 

प्लास्टिक तथा बेलुनले बनाइएको टोपीले पार्कमा उपस्थित सबैलाई समाजिक दूरी कायम गर्न सम्झाइरहेको थियो। 

सिनिझुई पार्कका अनुसार आगन्तुकहरू प्रवेश गर्नुअघि उनीहरूको शरीरको तापक्रम चेकजाँच गरिएको थियो र लाइनमा बस्दा सामाजिक दूरीलाई कामय राखिएको थियो। 

चिनियाँ न्युज एजेन्सीका अनुसार मानिसहरू जमघट हुने पार्क जस्तो ठाउँमा प्रयोग गरिएको यो तरिका निकै प्रभावकारी देखिएको छ। 

कोरोना भाइरसका कारण तहसनहस भएको चीनको पर्यटन क्षेत्रलाई पुर्नताजगी गर्न सरकारले नयाँ–नयाँ उपायको खेजी गरिरहेको छ। अहिलेको कार्यलाई यसैको प्रयोगको रूपमा लिइएको छ। 


 
 

प्रकाशित मिति: : 2020-05-08 16:02:01

प्रतिकृया दिनुहोस्